तपाईँ सुन्दै हुनुहुन्छः

२० महिनापछि अन्नपूर्ण बेसक्याम्पका होटेल भरिभराउ

कास्की  । लगातारको वर्षा भैरहँदासमेत कास्कीका पर्यटकीय स्थलहरू भने भरिभराउ भएका छन् । नेपालीहरूको महान् चार्ड दसैँ र तिहारको बीचमा लामो समय सम्म घुम्न निस्कन नपाएका पर्यटकहरू अहिले कास्कीका विभिन्न ठाउँमा देखिन थालेका छन् ।विश्वकै चर्चित पदमार्ग अन्नपूर्ण बेसक्याम्पमा २० महिना पछि पर्यटहरुको भिड लागेको छ ।

अन्नपूर्ण बेसक्याम्पमा रहेको माछापुच्छ्रे गेष्ट हाउसका सञ्चालक प्रेम गुरुङ भन्नु हुन्छ ‘अन्नपूर्ण पद यात्रामा दशैको केही अगाडीदेखि पर्यटहरुको आगमन भएको हो । अहिले  भारतीय ,युरोपियन र नेपालका आन्तरिक पर्यटहरुले गर्दा  होटेलको अकुपेन्सी एकदमै हाई छ ।’  दैनिक १ सय बढी पदयात्री एबिसी उक्लिरहेको उहाँ बताउनुहुन्छ ।

गुरुङका अनुसार यो भिड कोभिड पछिको पहिलो भिडभाड हो  । हामी यो चहल पहल देखेर आशावादी छौ पक्कै पनि यो क्रमले पर्यटन क्षेत्रलाई चलायमान बनाउने छ । अन्नपूर्ण पदयात्रामा निस्कने पर्यटकहरूको लागि पोखरा ट्रान्जिट सिटी हो । पोखरादेखि अन्नपूर्ण बेस क्याम्प पुग्न ४ दिन लाग्छ ।

पोखरा लेक साइडमा समेत आन्तरिक तथा बाह्य पर्यटकहरू आउन थालेको पर्यटन व्यवसायी उदय सुवेदी बताउनु हुन्छ । पश्चिमाञ्चल होटेल संघका अध्यक्ष लक्ष्मण सुवेदीका  अनुसार दसैँ सकिए लगतै पर्यटहरुको आगमन उच्च रहेको छ । ‘बुकिङ समेत आइरहेका छन् हामी उत्साहित भएका छौ ।’

कास्की जिल्ला तालैताल र गुफै गुफाको जिल्ला समेत हो । नेपालकै ठूलो महानगरको रूपमा रहेको पोखरा महानगर सहित ४ वटा गाउँपालिका पर्यटकहरूको रोजाइका केन्द्र हुन् ।

समथर उपत्यकादेखि पहाडका उच्च स्थानहरूमा समेत तालहरू भएकाले पर्यटहरुको रोजाइमा कास्की पर्ने गर्दछ । विश्वकै चर्चित पदयात्रा अन्नपूर्ण बेस क्याम्पदेखि युवा पुस्तामा लोकप्रिय हुँदै गएको छोटो र निकै रमाइलो पदयात्रा मर्दि हिमाल पदयात्रा आज भोलि धेरैको रोजाइमा पर्ने गरेको छ ।  

यहाँका रमणीय तालहरू र सेती नदी हिमाली छाया तथा झरनाहरू प्रमुख पर्यटकीय स्थल हुन् । फेवातालमा पर्ने माछापुच्छ्रेको छायाँ तथा बेगनासमा गरिने डुङ्गा सवारी नेपालमा शाह वंशको उद्गम स्थल कास्की दरबारबाट देखिने दृश्य पर्यटकहरूले  बिर्सिनै सक्दैनन् ।

 

कास्कीमा घुम्नै पर्ने  १० चर्चीत ठाउँहरू


१. कास्कीदरवार

कास्की जिल्लाको उद्गम स्थल । पुराणमा उल्लेख भए अनुसार कश्यप ऋषिले तपस्या गरेको तपोभुमी । धामको गराबाट देखिने मनोरम अन्नपुर्णहिम श्रृङखलाको दृश्यले पर्यटकको मन लोभ्याउँछ । पोखरा बजारबाट १३ किलो मिटर पश्चिममा रहेको कास्की कोट शाह वंशको उद्गम स्थल समेत हो । दरबार सँगै रहेका किल्ला तथा साना कोतहरू यस क्षेत्रका आकर्षण हुन् । गुप्तकालीका मन्दिर, कुलमण्डन शाहकालको दरबार तथा अन्य भग्नावशेषहरू, भुमेस्थान मन्दिर, खड्कगाउँकोट, देउराली मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन् भने थामको गहरा भ्यु टावर, कश्यप ताल , कालिका मन्दिर आदि रहेका छन् ।

२. विन्ध्यवासिनी मन्दिर

पोखरा उपत्यकाको पुरानो मन्दिर हो विन्ध्यवासिनी । यस  मन्दिर गम्वुज शैलीमा निमार्ण गरिएको हो ।  पोखरा उपत्यकामा  अवस्थित प्रसिद्ध मन्दिर हो । विन्ध्याचल बाट कास्की दरबारको ल्याइएको यो मन्दिरको मूर्तिको इतिहास बेग्लै खालको रहेको छ ।  यो मन्दिरलाई पोखराका चर्चित पर्यटकीय स्थलमध्ये एक प्रमुख स्थलको रूपमा मानिन्छ। यहाँबाट अन्नपूर्ण हिमशृङ्खलाको राम्रो दृश्यावलोकन गर्न सकिन्छ । यस मन्दिर धार्मिक र पर्यटकीय दृष्टिले पनि महत्त्वपूर्ण रहेको छ। यहाँ दर्शनका लागि नेपालबाट मात्र नभई भारत तथा अरू विभिन्न देशबाट । भक्तजन आउने गर्दछन्।

३.पाताले छाँगो (डेभिड फल्स)

यो झरना जमिनको सतह भन्दा तल गुप्तेश्वर गुफातर्फ झर्ने यो झरना वर्षायाममा हेर्न लाएकको छ । फेवातालको निदार हो पातले छाँगो । डेभी नाम गरेकी एक स्विस पर्यटक यस झरनाबाट खसेर बेपत्ता भएको हुनाले यस झरनाको नाम डेभिड फल्स रहन गएको हो । एउटा प्राकृतिक सुरुङको माध्यमबाट यो झरना लगभग ५०० फिट माथिबाट जमिन स्तरभन्दा १०० फिट तल सम्म झर्दछ ।डेभिड फल्स परिसरभित्र पानीको झरनाबाहेक ‘विसपुल’ र ‘मनोरञ्जन पार्क’ पनि आकर्षक स्थलहरू हुन्  । शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरूले पनि यस स्थललाई पहिलो रोजाइ बन्ने गरेको छ  । डेभिड फल्सको प्राचीन नाम ‘पताले छाँगो’ हो ।

४. पोखराका गुफाहरू

फेवाताल गुप्तेश्वर गुफा जमिनबाट करिब १५० मिटर तल अवस्थित रहेको छ गुप्तेश्वर गुफा । यस गुफाबाट पातले छाँगोबाट खसेको झरना हेर्न सकिन्छ। दक्षिण एसियाका सबैभन्दा ठुला गुफाहरूमा पर्ने यो गुफाभित्र मन्दिरहरू र ठूलो खुला ठाउँ पनि रहेका छन्। पोखराका पर्यटकीय स्थलमध्ये एक हो गुप्तेश्वर गुफा । गुफा भित्र रहेको कामधेनु गाई हेर्न हजारौं दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ ।

पोखराको उत्तरी क्षेत्रमा रहेको यो महेन्द्र गुफा र चमेरे गुफा पोखरा आउने पर्यटकहरूले छुटाउनै चाहादैनन् । महेन्द्र गुफा पोखरा नजिकै रहेको प्रसिद्ध गुफा हो। आन्तरिक तथा बाह्य पर्यटकको पहिलो गन्तव्य स्थल पनि हो । पोखरा महानगरपालिका बाटुले चौरमा अवस्थित गुफाको लम्बाई १ सय २५ मिटर लामो छ ।गुफा २०१७ सालमा विधिवत् उद्घाटन भएको थियो । तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेपछि गुफाको नाम महेन्द्र रहन गयो । गुफा भित्र छिर्ने बाटो निकै ठुलो छ । सर्वसाधारण सहज आवतजावत गर्न सकिन्छ । निस्कने बाटो भने केही जटिल छ । प्रवेशद्वारबाट १ सय २५ मिटर भित्र पुगेपछि गणेशको थान, शिवलिङ छ । गुफाको दायाँ बायाँ भागमा विभिन्न आकृति सजिलै देख्न सकिन्छ । गुफा पोखराको पृथ्वी चोकबाट झन्डै ८ किलोमिटर उत्तर पश्चिममा पर्छ । गुफाको प्रवेशद्वारसम्म मोटर पुग्छ ।

५. फेवा तालफेवाताल

कास्की जिल्लामा अवस्थित विश्वकै अत्यन्तै प्रसिद्ध ताल हो । पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा बाह्य पर्यटकहरूमाझ लोकप्रिय छ । ‘फेवाली मगर ’ समुदायका मानिसहरूको बसोबास रहेको यो क्षेत्र  ‘फेवा’ गाउँको छेउमा रहेकाले यो तालको नाम फेवाताल रहन गएको हो । फेवा तालमा देखिने माछापुच्छ्रे हिमालको छाया अत्यन्त रोमाञ्चकारी देखिने गर्दछ । तालको   बीचमा ‘बराही मन्दिर’ अवस्थित रहेको छ । ताल परिसरमा सूर्य उदय र अस्ताउँदाको   दृश्य मनलाई प्रफुल्लित बनाउने खालको देखिन्छ ।यो नेपालको दोस्रो सबैभन्दा ठुलो ताल हो । यो ताल माछापुच्छ्रे, अन्नपूर्णा र धवलागिरि तथा अन्य पर्वतको टाकुराको प्रतिबिम्बको लागि पनि प्रसिद्ध छ, जुन यस तालको पानीमा स्पष्ट देखिन्छ ।

६. तालबाराही मन्दिर

तालबाराही मन्दिर पोखरा फेवातालमा अवस्थित प्रसिद्ध मन्दिर हो । फेवातालको बिचमा रहेको यो मन्दिर कास्कीका राजा कुलमण्डन शाहले सर्वप्रथम खरको झुप्रो बनाई मन्दिर स्थापना गरेका थिए । यस मन्दिरको अस्तित्व वि।सं। १६६९ देखि कायम रहिआएको छ ।तालबाराही देवी सन्यासीको भेषमा रातको समय मन्दिर रहेको वरपरको गाउँ पुग्दा अरू कसैले बास दिएनछन् । एउटी बुढी महिलाले मात्रै उनलाई वास दिइछन् साथै रातमा आफूसँग भएको रोटी खान दिइछन् । जब भोलिपल्ट देवी जान लाग्नुभयो तब देवीले बूढी आमालाई अब यहाँ जलमग्न हुन्छ अन्तै गएर बस्नु भनेको र भोलि पल्टै ठूलो बाढी आएर जलमग्न भई बीच भागको ढिस्को मात्रै बचेको किम्बदन्ती रहेको छ । वि।सं। २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गरेका हुन् ।

७. बेगनास ताल

पोखरादेखि पूर्वमा रहेको लेखनाथ अन्तर्गत पर्ने रमणीय ताल हो बेगनास ताल । कास्कीको हंसपुरमा रहेको हास पोखरी वाट वेग हानेर उडेको हाँस यो तालमा बसेकाले यो ताललाई बेगनास ताल भन्ने गरेको किंवदन्ती पाइन्छ । । तालको पानीले हजारौँ हेक्टरमा खेती किसानी गर्दे आएका छन् ।  पोखराबाट  पूर्व तर्फ रहेको यो क्षेत्रमा मात्रै अन्य साना ठुला तालहरू रहेका छन् ।  खास्टे ,मैदी ,दिपाङ्ग ,गुदे लगायत तालहरू रहेका छन् । सबै तालहरूमा जान यातायातको सुवीधा रहेको छ ।

८. सराङकोट

सराङकोट पोखरादेखि उत्तरमा रहेको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल हो । यहाँका अन्य स्थलहरू भूमे कालिका मन्दिर, चिसा खोला वेद विद्याश्रम, वाहकोट देवीको मन्दिर, बागेश्वरी मन्दिर, पदेंली शिव मन्दिर आदि हुन भने सराङकोट भ्यूटावर, चण्डीको डिल पाराग्लाईडिङ, मेथलाङ डाँडा, , खपौदी र राताडाँडा र जिप फलाएर  आदि प्राकृतिक पर्यटकीय स्थलहरू यसकै आसपासमा रहेका छन् । सराङकोटबाट पोखराको रमाइलो दृश्यावलोकन गर्न सकिन्छ। सिरसिरे बतास चलिरहने यो ठाउँ प्याराग्लाइडिङका लागि नेपाल मै प्रसिद्ध रहेको छ ।

९. विशाल शिव मूर्ति र  शान्ति स्तुपा  

आज भोलि सामाजिक सञ्जालमा निकै चर्चित छ पोखरा पुम्दीकोटमा रहेको विशाल महादेवको मूर्ति । मूर्तिलाई राखेर फोटो टिकटक र सेल्फी खिच्नेहरूको दैनिक भिड लाग्ने गर्दछ । पोखराबाट दक्षिण पश्चिमीको  करिब १३ किलोमिटरको यात्रा पछि फेवातालको सिरानमा रहेको यो मूर्ति निकै आकर्षणको केन्द्र वनेको छ । शिवको मूर्ति हिमालमा राखेको जस्तो देखिने भएर पनि यो रोमाञ्चकारी मान्दछन् पर्यटकहरू । 

फेवातालमाथिको डाँडामा अवस्थित सेतो गुम्बा पनि स्वदेशी विदेशीको आकर्षणको केन्द्र मानिन्छ । पोखरा पुग्नेहरू एक पटक उक्त गुम्बामा पुग्ने गर्छन् । यहाँबाट पोखराको सुन्दर दृश्य, फेवाताल, हिमाल, सराङकोटको डाँडालगायतका सुन्दर दृश्यहरू देखिने हुँदा निकै रमाइलो महसुस हुने गर्छ ।

१० . सास्कृतीक कला

सास्कृतीक अध्ययनको लागी होमस्टेहरूकास्की जिल्लामा विभिन्न जातजाती समुदायहरूको बसोबास रहेको छ । आफ्ना सास्कृतीक सम्पदा तथा कलाहरूको संरक्षण गर्न विभिन्न ठाउँमा सामुदायिक होमस्टे सञ्चालनमा आएका छन् ।  गुरुङ समुदाय रहेको कास्कीको उत्तरी क्षेत्रमा रहेको ल्वाङ गाउँ होमस्टे र चियाबारी हेर्न पर्यटकको घुइचो नै लाग्ने गर्दछ । कास्कीकोटमा रहेको भुजेलहरूले सञ्चालन गरेको भुजेल गाउँ होमस्टे पनि निकै रमाइलो रहेको छ । यहाँ आउने पाहुनालाई स्थानीले गर्ने रैथाने  खाजा तथा खानाका परिकारले निकै आकर्षण गर्ने गरेको छ । फेवातालको  सिरानमा रहेको कालावाङ्ग होमस्टे पनि निकै रमाइलो रहेको छ । प्राय धेरै जसो होमस्टेहरुसम्म पुग्न सवारी साधनको यात्रा गर्दे जान सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button