तपाईँ सुन्दै हुनुहुन्छः

बाढी, पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न प्रधानमन्त्री देउवा सुदूरपश्चिममा (यस्तो छ तालिका)

File Photo

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी, पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन निरीक्षणका लागि आज सुदूरपश्चिम प्रदेश पुग्नुभएको छ ।  बाढी, पहिरोले सुदूरपश्चिम प्रदेशमा व्यापक जनधनको क्षति पुर्‍याएपछि प्रधानमन्त्री देउवा स्थलगत अवलोकन गर्न गृह प्रदेशमा आउनुभएको हो ।  

प्रधानमन्त्री देउवाले कैलाली, कञ्चनपुर, बझाङ, डोटी, डडेलधुरा, बैतडी जिल्लाको बाढी प्रभावित क्षेत्रको अवलोकन निरीक्षण गर्नु हुने कार्यक्रम रहेको प्रधानमन्त्रीसङै रहनु भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले बताउनुभयो । 

प्रधानमन्त्री देउवा सबैभन्दा पहिला डोटीको दिपायल जानुहुने, त्यसपछि बझाङको थलारा, चैनपुर, बैतडी, डडेलधुरा, महेन्द्रनगर हुँदै कैलालीमा आउने हुने उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरोले पुर्‍याएको जनधनको क्षति, उद्धार तथा राहत कार्य, विस्थापित परिवारको अवस्था लगायतका विषयमा जानकारी लिनुहुने छ । 

प्रधानमन्त्री देउवासँग अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, पूर्व मन्त्रीहरु एनपी साउद, रमेश लेखक, वीर बहादुर बलायर, उच्च सरकारी अधिकारी लगायत रहने बताइएको छ ।

गत आईतबारदेखि मङ्गलवारसम्मको अविरल वर्षासँगै आएको बाढी, पहिरो, डुबानमा परि सुदूरपश्चिम प्रदेशमा २६ जनाको मृत्यु भएको, २३ जना बेपत्ता भएको र १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बाढी, पहिरोले कैलाली, कञ्चनपुरमा भित्र्याउन लागेको धानवालीमा व्यापक क्षति पुर्‍याएको छ भने पहाडी जिल्लाहरुमा सडक सञ्जाल, विध्ुत सेवा अवरुद्ध पारेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button