तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली महिला उद्यमी सम्मेलनको तयारी पुरा

बीरगंज । नेपाली युवा उद्यमी मञ्च वीरगञ्जले लेडिज सर्कल नेपालसँगको सहकार्यमा कात्तिक ५ गते वीरगञ्जमा आयोजना गर्न लागेको ‘नेपाली महिला उद्यमी सम्मेलन’को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 

मञ्चले आज बीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी मोफसलमै पहिलो पटक नेपालको मुख्य औद्योगिक तथा व्यापारिक नगर वीरगञ्जमा आयोजना हुन गइरहेको सम्मेलनले महिला उद्यमशीलता प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने जनाएको छ । 

 
मञ्चद्वारा जारी प्रेस विज्ञप्तिमा सम्मेलनको उद्घाटन वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले गर्नुहुने कुरा उल्लेख गरिएको छ । 

विज्ञप्तिमा नेपालको उद्यम व्यापारका क्षेत्रमा महिलाहरूको सहभागिता निकै न्यून रहेको परिप्रेक्ष्यमा आयोजना हुन गइरहेको सम्मेलनबाट महिलाहरूलाई उद्यमशीलतामा अघि बढ्न प्रोत्साहन प्राप्त हुने विश्वास लिइएको छ । 

सम्मेलनबाट उद्यमका क्रममा आइपर्ने समस्याको समाधान र सम्भावनाको पहिचान तथा उपयोगका उपायका बारेमा वृहत् छलफल हुने जनाइएको छ । 

उद्यमका क्षेत्रमा सक्रिय महिला उद्यमी र उद्योग क्षेत्रमा आउन खोजेका महिलाहरूलाई प्रोत्साहन  गर्न सम्मेलनको आयोजना गर्न लागिएको जनाइएको छ । 

सम्मेलनमा एक सयभन्दा बढी महिला उद्यमीको सहभागिता रहने नेपाली युवा उद्यमी मञ्चकी कार्यक्रम संयोजक मनीषा सुनुवार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button