तपाईँ सुन्दै हुनुहुन्छः

झापामा बाढीले सात घर बगायो, पाँच दर्जन परिवार विस्थापित

भद्रपुर, झापा । अविरल वर्षासँगै विभिन्न नदीमा आएको बाढीका कारण झापामा सात घर बगाएको छ ।

त्यस्तै, बाढीले ६८ घरपरिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दमकको रतुवा खोलामा आएको बाढीले दमक नगरपालिका–७ स्थित पशुहाट पूर्वपट्टिको खोला किनारका सात घर बगाएको छ । बाढीले घरपालुवा जनावरहरू पनि बगाएको प्रहरीले जनाएको छ । 

दमक–७ का पूर्णबहादुर श्रेष्ठ, डम्बर श्रेष्ठ, पविमाया तामाङ, खड्ग लिम्बू, जमुना लिम्बू, मित्रबहादुर तामाङ, सुवास लिम्बूको घर खोलाले बगाएको डिएसपी राकेश थापाले जानकारी दिनुभयो । 

उनीहरू सबै जनाको घर बाँसको बेरा र टिनको छानो भएको एक तले घर थियो । बाढीले सुवासको पाँच वटा सुँगुरको पाठा, ६ वटा हाँस र कुखुरा पनि बगाएको छ ।  त्यस क्षेत्रमा अन्य २० घर उच्च जोखिममा रहेकोले सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसैगरी, मेची नदीमा आएको बाढी बस्तीमा पस्दा भद्रपुर नगरपालिका–५ शान्ति टोलका तीन घरपरिवार विस्थापित भएका छन् । मङ्गलवार राति साढे ११ बजे मेची नदीमा आएको बाढी गाउँमा पसेको थियो । 

This image has an empty alt attribute; its file name is 1634704263_246406275_467517667858401_4082708540683797326_n-1024x576.jpg

त्यस्तै‚ कनकाई नदीको बाढीले घर डुबान गर्दा झापा गाउँपालिका २ सुगाबधानका ६ घरपरिवार विस्थापित भएका छन् ।

त्यसैगरी, शिवसताक्षी नगरपालिका–५ को कोभेलामुनि र शिवगञ्जमा १२ घर डुबानमा परेको छ भने कनकाई नदीले कटान गरी पानी गाउँ पस्दा गौरीगञ्ज गाउँपालिका २ को भाकुरमारीका ४० घर डुबानमा परेको छन् ।

घर डुबानमा परी विस्थापित भएकाहरूलाई सुरक्षित स्थानमा पुर्‍याइएको छ भने उनीहरूलाई तत्काल राहतका सामग्री पुर्‍याउन थालिएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।

वर्षाका कारण झापामा बिजुली, खानेपानी र इन्टरनेट सेवा समेत अवरुद्ध बनेको छ । पानी अझै पनि परिरहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सचेत रहन आग्रह गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button