तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय युवा फुटबल टोली ताजिकिस्तान प्रस्थान

काठमाडौँ । राष्ट्रिय युवा फुटबल टोली ताजिकिस्तानमा हुने एएफसी यु–२३ एसियन कप छनोटमा प्रतिस्पर्धा गर्न मङ्गलवार त्यसतर्फ प्रस्थान गरेको छ । ताजिकिस्तान जाने ३५ सदस्यीय टोलीमा २३ खेलाडी र १२ अफिसियल छन् ।

झन्डै एक महिनाको प्रशिक्षणपछि प्रशिक्षक बाल गोपाल महर्जनले २३ सदस्यीय टोलीको घोषणा गरेका थिए । उनले कमजोर तयारी भए पनि टोलीले राम्रो प्रदर्शन गर्ने विश्वास लिएका छन् । 

माल्दिभ्सको मालेमा शनिबार सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता बनेको सिनियर टोलीका ६ खेलाडी युवा टोलीमा रहेका छन् । डिफेन्डर द्वय सुमन अर्याल र गौतम श्रेष्ठसँगै मिडफिल्डरहरु नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान र फरवार्ड मनिष डाँगी टोलीमा समेटिएका छन् ।

महर्जनले राष्ट्रिय टोलीका खेलाडीले हालसम्म टोलीसँग प्रशिक्षण नगरेकाले केही समस्या रहने बताए । नेपालले प्रतियोगिताको तयारी स्वरूप ताजिकिस्तानमै एक मैत्रीपूर्ण खेल पनि खेल्दै छ । 

एएफसी यु–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरमा हुँदै छ । छनोटमा समूह ‘बी’ मा नेपालले ताजिकिस्तानसँगै इरान र लेबनानसँग खेल्नेछ । नेपालले कार्तिक ८ गते इरान, कात्तिक ११ गते ताजिकिस्तान र लेबनानसँग कात्तिक १४ गते प्रतिस्पर्धा गर्नेछ ।

एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । पूर्वका १९ र पश्चिम क्षेत्रका २३ गरेर ३ वा ४ टोलीसहितको ११ समूह निर्धारण गरिएको हो । 

समूह के बाट उत्तर कोरियाले नाम फिर्ता लिएपछि उक्त समूहमा तीन टोली छन् । त्यस्तै समूह एफमा पनि चीन र ब्रुनाईले नाम फिर्ता लिएका छन् । 

प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा हुनेछ । छनोट चरणका खेल भने २०२१ अक्टोबरमा हुँदै छ ।

नेपालले हालसम्म एएफसीको यु–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहीन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन । 

प्रतियोगिताको पाँचौँ संस्करणमा आइपुग्दा इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले १–१ पटक उपाधि जितेका छन् । साबिक विजेता दक्षिण कोरिया सन् २०१६ मा उपविजेता समेत रहेको थियो । गत संस्करणमा पराजित साउदी अरेबिया भने २०१३ मा भएको पहिलो संस्करणमा पनि फाइनलमा हारेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button