तपाईँ सुन्दै हुनुहुन्छः

सेवा चुस्त बनाउन श्रम मन्त्रीको निर्देशन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले सेवा प्रवाहलाई चुस्त बनाउन निर्देशन दिनुभएको छ । 

बबरमहलस्थित सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार बोर्डको आज निरीक्षणपछि मन्त्री श्रेष्ठले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन दिनुभयो । 

सरकारी सेवा जनताले छिटोभन्दा छिटो पाउनुपर्ने भन्दै मन्त्री श्रेष्ठले ढिलासुस्ती नगर्न निर्देशन दिनुभयो ।

त्यस अवसरमा मन्त्री श्रेष्ठले दुवै कार्यालयबाट प्रवाह भइरहेका सेवाका बारेमा जानकारी लिनुभएको थियो । मन्त्री श्रेष्ठले आइतबार मन्त्रालयमा कार्यरत श्रमिकहरूका गुनासो सुन्दै काम सुरुआत गर्नुभएको थियो ।  

यसैगरी मन्त्री श्रेष्ठले विदेशमा रहेका नेपालीको उद्धारमा सहयोग गर्न आग्रह गर्नुभएको छ । युएई र साउदी अरबका राजदूतसँग भेटघाट गर्दै मन्त्री श्रेष्ठले युएई र साउदी अरबमा अलपत्र परेका, मृत्यु भएका र जेलमा रहेका नेपाली श्रमिकको उद्धारमा आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको हो ।

विभिन्न कारणले विदेशमा अलपत्र परेका र जेलमा रहेका नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीलाई छिटोभन्दा छिटो नेपाल फर्काउन श्रम मन्त्री श्रेष्ठले सम्बन्धित राजदूतलाई आग्रह गर्नुभएको सचिवालयले जनाएको छ । 

मन्त्री श्रेष्ठसँग युएईका राजदूत साइद हमदार मोहम्मद अल नक्की र साउदी अरबका राजदूत मुसेद वनि सुलेमानले महाराजगन्जस्थित मन्त्री श्रेष्ठको निवासमा भेटघाट गर्नुभएको थियो । 

भेटका अवसरमा राजदूतहरूले श्रम मन्त्री श्रेष्ठलाई बधाई ज्ञापन गर्दै दुई देशबिचको हितका लागि आपसी समझदारीमा काम गर्ने बताउनुभयो ।रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button