तपाईँ सुन्दै हुनुहुन्छः

फुटबल टिमका खेलाडीलाई जनही पाँच लाख उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको छ । 

ग्लास्गोमा यही अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म जलवायु परिवर्तनसम्बन्धी २६औँ सम्मेलन हुँदै छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले साफ च्याम्पियनसिप प्रतियोगितामा उपविजेता भएका नेपाली फुटबल टिमका खेलाडीलाई जनही रु पाँच लाख र प्रशिक्षकलाई रु तीन लाखका दरले प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं  सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसैगरी बैठकले मोहम्मद जयन्ती (१४९६) का अवसरमा यही कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।

अबुधाबी डाइलगको  छैटौँ मन्त्री स्तरीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई स्वीकृति दिने र लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिसबमोजिम राजपत्राङ्कित प्रथम श्रेणीका विभिन्न पदहरूमा नियुक्त गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

बैठकले विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय गरेको मन्त्री कार्कीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button