तपाईँ सुन्दै हुनुहुन्छः

मुहान अतिक्रमण हुँदा नदीमा पानी सुक्न थाल्यो

जनकपुरधाम । जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्वको दुग्धमति नदीमा पानी सुक्न थालेपछि स्थानीयबासी निक्कै चिन्तित बनेका छन् । 

त्रेता युगको इतिहास बोकेको दुग्धमतिमा तीन दशक अगाडीसम्म निक्कै निर्मल पानी रहेकोमा पानी कम हुँदै जानुमा मुहानमा अतिक्रमण प्रमुख कारणको रुपमा रहेको दुग्धमति संरक्षण अभियानी सुरेश शर्माले जानकारी दिनु भएको छ । 

क्षिरेश्वरनाथ नगरपालिकामा रहेको दुग्धमतिको मुहानलाई अतिक्रमण गरेर व्यक्ति विशेषले माछा पालन गरेका कारणले दुग्धमतिको पानी सुक्न थालेको स्थानीयहरू बताउँछन् । 

दुग्धमतिको अतिक्रमित जग्गा खाली गराएर पानीको मुहान सुचारु गराउने प्रतिबद्धता प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले गरेको दुई वर्ष बिते पनि हालसम्म सुचारु हुन नसकेको गुनासो स्थानीयको छ । 

दुग्धमति नदीको उद्गम कामधेनु गाईको थुनबाट भएको धार्मिक विश्वास रहेको छ । माता सीतालाई कामधेनु गाईले दूध खुवाउनका लागि दुग्धमति नदीमा दूधको धारा बगाएको मिथिलाको महातममा उल्लेख्य छ । 

दुग्धमतिको पानी तीन दशक अगाडीसम्म निर्मल एवं दुग्ध जस्तै स्वच्छ देख्ने गरेकोमा अहिले आएर अतिक्रमणका कारणले स्नान गर्नका लागि पनि भक्तजनलाई समस्या हुने गरेको छ । पानी कम भएपछि दुग्धमतिलाई जनकपुरधाममा थुनेर भक्तजनहरूलाई नुहाउनका लागि व्यवस्था मिलाइएको छ । 

पछिल्लो पटक दुग्धमतिको संरक्षणका लागि सङ्घीय सरकारले केही बजेटको व्यवस्था गरे पनि सो बजेट परिचालन भएपछि मात्र केही भन्ने अवस्था रहेको स्थानीयबासीको भनाइ छ । 

दुग्धमतिमा विभिन्न धार्मिक अवसर तथा अन्य दिनमा पनि स्नान गर्न हजारौँ भक्तजन पुग्ने गर्दछन् । दुग्धमतिमा स्नान गर्नाले विशेष फल प्राप्त हुने विश्वास रहिआएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button