तपाईँ सुन्दै हुनुहुन्छः

भासु भीरमा पहिरो, भीमदत्त राजमार्ग अवरुद्ध

धनगढी । कैलालीको भासु भीरमा पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

आइतबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो ।

सोमबार राति करिब दुई बजेको समयमा गएको पहिरोले राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका ७ पहाडी जिल्लाको यातायात सेवा ठप्प भएको छ । पहाडी जिल्लाबाट कैलाली र कञ्चनपुरसहित विभिन्न जिल्लाका लागि छुटेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने तराईबाट पहाड जाने सवारीसाधन पनि अलपत्र परेका छन् ।

अहिले गोदावरी नगरपालिकाको डोजरको सहायताले पहिरो पन्छ्याउने काम भइरहेकाले अझै राजमार्ग खुल्न कम्तीमा पनि डेढ घण्टा लाग्ने प्रहरी उपरीक्षक गौतमले बताउनुभयो ।

उता अछामको चौरपाटी गाउँपालिकामा पनि पहिरोका कारण मुख्य राजमार्ग अवरुद्ध भएको छ । चौरपाटी गाउँपालिकाको दुनीमा अविरल वर्षापछि आएको पहिरोले राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ । अहिले त्यहाँ पनि डोजरको प्रयोग गरेर सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button