तपाईँ सुन्दै हुनुहुन्छः

एमालेले कात्तिक ६ गते देशभरका सबै वडाकाे अधिवेशन गर्ने

काठमाडौं । नेकपा एमालेले कात्तिक ६ गते देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ । देशभरका ६ हजार ७ सय ४५ वडामा एमालेले एकसाथ नयाँ नेतृत्व चयन गर्न लागेको हो ।
मंसिरमा हुने महाधिवेशन अगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरू सम्पन्न गर्दैछ । वडा अधिवेशनपछि कात्तिक ९ गते देशभरका ७५३ स्थानीय तहको अधिवेशन गर्ने तयारी एमालेको छ ।

वडा अधिवेशन उद्घाटन गर्न एमाले भर्चुअल विधि अपनाउँदै छ । बढीमा ५ सयसम्म वडालाई जुममा जोडेर अध्यक्ष केपी शर्मा ओलीले एकैपटक अधिवेशन उद्घाटन गर्नु हुनेछ ।

एमालेको विधान अनुसार वडा कमिटी सबैभन्दा तल्लो तहको कार्यकारी निकाय हाे । त्यसभन्दा तल प्रारम्भिक कमिटीहरू रहे पनि कार्यकारी काम वडा कमिटीबाटै हुनेछन् ।

वडा कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्यहरू अधिवेशनबाट निर्वाचित हुनेछन् । कमिटी गठन गर्दा कम्तिमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

अधिवेशन तथा नेतृत्व चयन विधिका बारेमा केन्द्रले मापदण्ड पठाइने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button