तपाईँ सुन्दै हुनुहुन्छः

ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैङ्क

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैङ्कले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिलको आजदेखि बिक्री गर्न लागेको हो ।

राष्ट्र बैङ्कले ९१ दिन अवधिको रु २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको रु छ अर्ब गरी जम्मा रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको बैङ्कले जारी गरेको सूचनामा उल्लेख छ । 

९१ दिन अवधिको ट्रेजरी बिल आगामी माघ ४ गते परिपक्व हुनेछ भने १८२ दिने बिल आगामी वैशाख छ र ३६४ दिने बिल २०७९ साल कात्तिक १ मा परिपक्व हुनेछ । 

यसअघि बैङ्कले गत असोज २५ गते रु १३ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल जारी गरेको थियो । 

ट्रेजरी बिलको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुला हुनेछ ।

आज हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैङ्क, बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्क तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैङ्कले मङ्गलवार ट्रेजरी बिल जारी गर्नेछ । 

के हो ट्रेजरी बिल 
​​​​​​​मुद्रा बजारको एक प्रमुख उपकरणको रूपमा रहेको ट्रेजरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । 

सरकारलाई आवश्यक पर्ने अल्पकालीन (एक वर्षभन्दा कम) अवधिको स्रोत जुटाउन राष्ट्र बैङ्कले बोलकबोलको माध्यमबाट बहुबोल मूल्य विधिअनुसार यस्तो बिल जारी गर्ने गर्छ । 

२८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरी बिल केन्द्रीय बैङ्कले जारी गर्दछ । नेपालमा हाल २८ दिने ट्रेजरी बिल प्रचलनमा आएको देखिँदैन । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button