तपाईँ सुन्दै हुनुहुन्छः

लेन्थवर्करहरुले २३ महिना सम्मको तलब पाएनन्

बैतडी । बैतडीको पाटन–पञ्चेश्वर सडक खण्डमा काम गर्ने लेन्थ वर्करहरुको माग अझै पुरा भएको छैन । 

२३ महिना सम्मको तलब नपाएको भन्दै आन्दोलन गरेका १२ जना लेन्थ वर्करहरुलाई प्रक्रिया पुर्‍याएर तलब दिने सहमति भए पनि तलब नपाउँदा चाडपर्व खल्लो भएको लेन्थवर्कर घनश्याम भट्टले बताउनुभयो । 

लेन्थ वर्करहरु काम गरे बापतको पारिश्रमिक नपाएको भन्दै गत असारमा २३ दिनसम्म पाटनमा अनसन बसेका थिए । अनसनपछि प्रक्रिया पुर्‍याएर पारिश्रमिक दिने भनी जिल्लास्थित सरोकारवाला निकायसँग सहमति भए पनि कार्यान्वयन नहुँदा समस्या भएको लेन्थवर्कर लक्ष्मी पन्तले बताउनुभयो । 

विगतमा सङ्घीय सरकार मातहत रहेको पाटन–पञ्चेश्वर सडक प्रदेश सरकार मातहत आएसँगै तलब पाउन छाडेको लेन्थ वर्करहरुको गुनासो छ । उनीहरू आन्दोलनका क्रममा मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेट्न धनगढी पुगेका थिए । 

प्रदेश सरकार मातहत रहेको पूर्वाधार विकास कार्यालय बैतडीको लापरबाहीका कारण आफूहरूले तलब नपाएको लेन्थ वर्करहरुको आरोप छ । तर पूर्वाधार विकास कार्यालयले भने अझै आफ्नो मातहतमा सडक नआइसकेको जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button