तपाईँ सुन्दै हुनुहुन्छः

तौथलीको दही छ्याप्ने जात्रा सम्पन्न

सिन्धुपाल्चोक । एक आपसमा दही छ्यापाछ्याप गरेर मनाइने जात्रा सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका–५ स्थित तौथलीमा सम्पन्न भएको छ । यो जात्रा यस स्थानमा मात्र लाग्ने गर्दछ ।

विजयादशमीको भोलिपल्ट एकादशीका दिन दसैँ सकिएको सङ्केत गर्दै खड्ग जात्रासँगै त्रिपुरा सुन्दरी भगवतीलाई दही चढाएपछि एक आपसमा दही छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ यो जात्रा मनाउने गरिन्छ । 

बडादसैँको नवमीको रात मीन अर्थात् माछाको पूजा गरी मनाइने र एकादशीका दिन खड्ग जात्रापछि अन्तिममा दही छ्यापेर मनाइने यहाँको यो जात्रा अन्यत्र कतै नमनाइने गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताउनुभयो ।

तेह्रौँ शताब्दीमा मल्लकालदेखि सुरु भएको उक्त जात्रा गत वर्ष कोरोना महामारीका कारण बन्द गरिएको थियो । जात्रामा निकै टाढाबाट आएका करिब छ हजार मानिसको उपस्थिति थियो । 

विगतका वर्षमा रु एक लाख ५० हजारको दही खरिद गरी दहीको भल बग्ने गरी मनाइएकामा यस वर्ष रु ५० हजारको दही खरिद गरेर त्यही दही छ्यापाछ्याप गरेर मनाइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button