तपाईँ सुन्दै हुनुहुन्छः

धान काट्न कृषकलाई चटारो, मजदुर अभाव

सुनसरी । सुनसरीमा कृषकहरूलाई धान काट्न चटारो भए पनि कृषि मजदुर अभावसँगै समस्या भएको कृषकहरूले दुखेसो पोखेका छन् ।

सुनसरी तथा मोरङ औद्योगिक करिडोरमा रहेका उद्योगहरूमा मजदुरहरू श्रमका लागि जानु तथा वैदेशिक रोजगारमा समेत गएकाले सो समस्या उत्पन्न भएको हो ।

धान काट्न कृषि मजदुरको चरम अभाव भएको स्थानीय कृषकहरूको भनाइ छ । 

कृषिमा यान्त्रिकीकरणको विभिन्न प्रविधि पर्याप्तता नआएको र केही आएको भए पनि सबैको पहुँचमा नरहेकाले धान काट्न किसानलाई समस्या भएको कृषक सुशील चौधरीले गुनासो पोख्नुभयो ।

सुनसरीको १२ वटै स्थानीय तह अन्तर्गत दुहबी, कोसी, भोक्राहा, नरसिंह, गढी, इनरुवा, बर्जु, रामधुनी, वराहक्षेत्र, हरिनगर , देवानगञ्ज र इटहरी सहितका जिल्लाभर नै धान काट्ने कृषि मजदुरको अभाव देखिएको कृषकहरू बताउँछन् । 

विगतमा दौनिया धान काटेर १० मन तयार गरी एक मन धनीलाई, दिनबोनीया दैनिक ज्यालादारीमा र आलोपालो गरी धान काट्ने चलन थियो भने अहिले आएर यी चलनहरू हराउँदै गएकाले समेत मजदुर अभाव भएको इटहरी उप महानगर पालिका १३ खनारका किसान सियालाल सरदारले बताउनुभयो ।

सुनसरीको ५५ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको अनुमान गरिएको छ । 

सुनसरीका अधिकांश भेगमा राधा १२, स्वर्णा, रन्जीत, जिरा मन्सुली, कान्छी, मंसुली, साइठी करियाकामत, बासमती, चननचुर , हर्दिनाथ लगायतका जातका धान खेती हुने गर्दछन् ।

पछिल्लो समय केही पालिकामा कृषि ज्ञान केन्द्र तथा प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले किसानहरूलाई समूह बनाई तथा कृषि सहकारीहरूलाई हार्वेस्टर उपलब्ध गराएपछि भने धान काट्न केही सहज हुन थालेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button