तपाईँ सुन्दै हुनुहुन्छः

स्वरेक कोट कालिका भैरव मन्दिरमा नवमीको दिन दर्शनार्थीको भीड

स्याङ्जा  । स्वरेककोट कालिका भैरव मन्दिरमा भक्तजनको आकर्षण बढेको छ । 

भीरकोट–५ मा रहेको स्वरेक कोट कालिका भैरव मन्दिरमा मनोकामना पुरा हुने भएकाले आफ्नो भाकल पुरा भई कालिका भैरव मन्दिरमा पूजा तथा दर्शनका लागि भक्तजनहरू आउने गरेका छन् । 

बिहीबार विजया दशमीको नवमी तिथिमा मन्दिरमा वली तथा पञ्चवली दिइएको छ । 

गत वर्ष कोभिड–१९ का कारण भक्तजनहरू आएका थिएनन् भने यस पटक भने कोभिडको न्यूनीकरण हुँदै जानु, कोरोना विरुद्धको खोप लगाइनुका कारण पनि भक्तजनहरूको आकर्षण बढेको हो । 

मन्दिरमा विशेष गरी बडादसैँ र चैते दसैँमा मन्दिरमा पूजा पाठ हुने गरेको छ । 

मन्दिरमा विभिन्न भौतिक संरचनाहरू निर्माण हुनु र सडक स्तरोन्नतिका कारण पनि मन्दिरमा पुग्न सजिलो भएपछि भक्तजनहरूको आकर्षण बढेको हो । 

कालिका भैरव मन्दिरमा पाडा, पाठा, बाख्रा, भेडाको बलि दिने चलन रहेको छ । 

मन्दिरमा शौचालय निर्माणका लागि बजेट विनियोजन गरिएको र जग्गाको व्यवस्थापन भए पनि शौचालय तथा खानेपानीको धारा निर्माण गरिने वडा अध्यक्ष यामप्रसाद अधिकारीले बताउनुभयो ।

मन्दिर प्राङ्गणमा रहेको भैरव शिलालाई उडेर आएका देवताका रुपमा पूजा गर्ने गरिएको छ । 

मन्दिर परिसरस्थित भैरव शिला भूमिगत मानिन्छ । जमिनको भागबाट केही तल अवस्थित शिला बाटुलो चक्राकार छ । प्रत्येक वर्ष सो शिला एक चक्कर लगाएर स्वस्थानमा नै घुम्ने विश्वास गरिन्छ । 

स्वरेक र आसपासका भक्तजनहरूले अत्यन्त श्रद्धा र विश्वासका साथ पूजाआजा गर्दै आएको यस तीर्थस्थलको अस्तित्व नेपालका बाइसे चौबीसे राजाका पालादेखि नै रहिआएको पाइएको छ ।

मन्दिर परिसरमा मल्लकालीन समयमा प्रयोग भएका इँटासमेत पाइने भएकाले तिनै इँटाका माध्यमबाट मन्दिर र आसपासको इतिहासको अध्ययन एवम् अनुसन्धान गर्न सक्ने देखिएको छ । 

मल्लकालीन समयदेखि नै स्याङ्जा भैरव कालिकाको गुठी जग्गा रहिआएको पाइन्छ । पुरानो चलनअनुसार ४२ मुरी माटो भनी क्षेत्रफल निर्धारण गरिएको सो जग्गा कटुवाल र दुई पुजारीले उपभोग गर्दै आएका छन् । मन्दिरमा खाँण र सेन थरका पुजारीले पूजाआजा गर्दै आएको पाइन्छ ।

प्याराग्लाइडिङको विश्वकप समेत सम्पन्न भइसकेको स्वरेकस्थित स्याङ्जा भैरव कालिका तीर्थस्थलको प्रवर्द्धन एवम् विकासमा राज्यको ध्यान पुग्नुपर्ने सरोकारवाला बताउँछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button