तपाईँ सुन्दै हुनुहुन्छः

सौराहामा पर्यटक लक्षित छुटका अफरसहित प्याकेजहरू सार्वजनिक (फोटो फिचर)

चितवन । सौराहाका व्यवसायीहरूले नेपाली पर्यटक लक्षित छुट छुटका अफरसहित विभिन्न प्याकेजहरू सार्वजनिक अभियान थालेका छन् ।  कोरोनाका कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन आन्तरिक पर्यटकहरू लक्षित गर्दै हाल सौराहाका सबैजसो होटलले सहुलियत र छुटका प्याकेज जारी गर्ने अभियान थालेका हुन् ।

सौराहामा आन्तरिक पर्यटकको आगमन दर बढाउन र पर्यटकलाई आकर्षित गर्नका लागि सस्तो मूल्यमा प्याकेज सार्वजनिक गर्दै छुट नै छुट गर्ने अभियान सुरु भएको क्षेत्रिय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यहाँका व्यवसायीहरूले १० देखि २५ प्रतिशतसम्म छुट यसअघिदेखि दिई राखेको बताउँदै हाल पनि विभिन्न अफरहरू थप गरिएको छ ।

“पर्यटक आउनुस् भनेर मात्र आउँदैनन्, केही विशेष र आकर्षक योजना चाहिन्छ। हामी त्यसैका लागि सौराहा घुम्न प्रवर्द्धन गर्दै सहुलियत दिन लागेका हौँ  होटल जङ्गल क्राउनका कार्यकारी प्रमुख सन्तोष गिरीले भन्नुभयो ।

होटल जङ्गल क्राउनले फेष्टिभ, हनिमुन र एनिर्भसरी छुट प्याकेज सार्वजनिक गरेको उनले बताए । क्राउनले छठ पर्वसम्म एक रात, दुई दिनका लागि परिवारका लागि छुट अफर ल्याएको छ ।

एक परिवार सहित १० वर्ष मुनिका २ बालबालिकालाई ७ हजार ५ सय रुपैयाँ तिरेर खाना र बास दिने जनाएको छ । परिवार सहित सौराहा घुम्न प्रवर्द्धन गर्न सहुलियत दिन लागेको कार्यकारी प्रमुख सन्तोष गिरीले बताउनुभयो । खाना र बेभरेजमा १५ प्रतिशत छुट दिने समेत जनाएको छ ।

२०७६ सालको चैतमा लकडाउन घोषणा गरिएसँगै थला परेको पर्यटन केही महिना चहलपहल भए पनि फेरि दोस्रो लहरका कारण पुनः लकडाउन हुँदा २०७८ सालको सुरुआत देखि ठप्प थियो। अहिले फेरि यहाँ ६ महिनापछि लकडाउन हटेसँगै व्यवसायीहरूले अफर नै अफर जारी राखेका हुन् ।

३ रात बास बस्नेलाई एक दिन पूर्ण छुट दिने गिरीले बताए । फेष्टिभ अफर स्वदेशी पर्यटकलाई आकर्षण गर्न ल्याइएको हो । एउटा परिवारले ७ हजार ५ सय तिरेपछि खाना र खाजा सहित एउटा डिलक्स रुम पाउनेछन् ।

हनिमुन तथा एनिर्भसरी मनाउन चाहनेलाई ९ हजार रुपैयाँमा सुपर डिलक्स रुम रहेका भिल्ला उपलब्ध गराइने छ । खाजा, खाना सहित भोलिपल्ट दिउसो ३ बजेसम्म भिल्लामा बस्न पाउने छन् । कोठा सजावट, केक, वाइन लगायतका सुविधा पनि पाउनेछन् ।

यस्तै होटल जङ्गल भिष्टा सौराहाले पनि प्रति व्यक्ति ५५ सय रुपैयाँको दुई रातसहितको दसैँ तिहार अफर ल्याएको छ । होटल जङ्गल भिष्टाका प्रबन्ध निर्देश रमेश सिल्वालका अनुसार जैविक विविधता भरिपूर्ण, पर्यटकीय हब सौराहामा मनको चिन्ता हटाउँदै आनन्द पूर्ण वातावरण दिन समेत छुट अफरले थप मद्दत पुग्नेछ ।

यस्तै जङ्गल सफारी लजका सञ्चालक समुन घिमिरेले दसैँ–तिहार लक्षित गर्दै ‘पे नाउ, गो लेटर’ प्याकेजसँगै दुई रात तीन दिनको सो प्याकेज घोषणा गर्नुभएको थियो । दुई रात प्याकेजमा एउटा लञ्च, दुई वटा डिनर र दुई वटा ब्रेकफास्टसँगै पर्यटकलाई थारु संस्कृति, थारु म्युजियम र हात्ती प्रजनन केन्द्र घुमाइने घिमिरेले बताए । यस्तै, होटल एसोसिएसन नेपालका केन्द्रिय सदस्य समेत रहेका रेन फरेष्टका सञ्चालक ज्ञानेन्द्रकुमार विष्टले पनि छुट प्याकेज घोषणा गर्नुभएको छ ।

‘हामीले दसैँ–तिहारलक्षित प्याकेज सार्वजनिक गरेका छौँ,’ उनले भने ‘प्याकेजमा एक रात दुई दिनको चार हजार ४४४ रुपैयाँ पर्दछ ।’ जसमा एक–एक वटा लञ्च, डिनर र ब्रेकफास्टसँगै जिप वा हात्ती सफारीमध्ये एक र कल्चरल डान्स प्याकेजमा पर्नेछ ।

त्यस्तै सौराहाको होटल हर्मिटेजले पनि आन्तरिक र बाह्रय पर्यटक लक्षित विभिन्न छुट सहित ३ दिने ५ दिने र ७ दिने प्याकेजका कार्यक्रम ल्याइएको का म्यानेजर रमेश रेग्मीले जानकारी दिनुभयो ।

सौराहामा ११० होटल र ७० वटा रेष्टुरेराँ रहेका छन् । अबको पर्यटनमा नवीनतम सोचको आवश्यकतासँगै यस विषयमा सरोकारवालासहितको राय सुझावसहित छिटै नयाँ कार्यक्रमहरू ल्याउने रेवान सौराहा अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

उहाँले यहाँ व्यवसायीहरूले पर्यटकीय गन्तव्यसँगै सांस्कृतिक, धार्मिक, प्राकृतिक पक्षलाई उजागर गर्ने कार्यक्रमलाई समेत विशेष प्राथमिकता राखेका छन् । सौराहा आउने पर्यटकहरू जङ्गल, हात्ती र जिप सफारीसँगै पैदल यात्रा, डुङ्गा विहार, टावर नाइटमा रमाउन मन पराउँछन् भने, सौराहा सङ्ग्रहालय, गोही संरक्षण तथा प्रजनन  केन्द्र, हात्ती प्रजनन केन्द्र, थारु सांस्कृतिक सूचना केन्द्रको स्थापना र होमस्टे समेत यहाँको मुख्य आकर्षण पर्दछ । यस्तै यहाँ आउने पर्यटकहरू एकसिंगे गैँडा, बाघ, हात्ती लगायतका अन्य जङ्गली जनावर हरेर लोभिने गर्दछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button