तपाईँ सुन्दै हुनुहुन्छः

मध्यपश्चिम विश्वविद्यालय र चण्डीगढ विश्वविद्यालय बीच एमओयुमा हस्ताक्षर

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयु) सुर्खेत र भारतको चण्डीगढ विश्वविद्यालयबीच शैक्षिक सहयोगका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । चण्डीगढ विश्वविद्यालयले मङ्गलवार आयोजना गरेको एक कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चण्डीगढ विश्वविद्यालयबीच शैक्षिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको हो । 

दुई छिमेकी मित्र राष्ट्र नेपाल–भारत बीच शैक्षिक सहयोग एवं द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनु एमओयूको मुख्य उद्देश्य रहेको बताइएको छ । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति नन्दबहादुर सिंह र चण्डीगढ विश्वविद्यालयका तर्फबाट उपकुलपति आएएस बावाले शैक्षिक समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो । 

एमओयू पश्चात अब दुवै विश्वविद्यालयले शैक्षिक उत्कृष्टता, सङ्काय र विद्यार्थी आदानप्रदान, अनुसन्धान सहयोग, गुणस्तरीय शिक्षा, सकारात्मक वातावरण, प्रतिमान परिवर्तन, परिवर्तनकारी पहल, सांस्कृतिक तथा प्रासङ्गिक विकास मोडेल कार्यक्रमहरू सञ्चालन गर्ने छन् । विश्वव्यापी आवश्यताहरुको सामना गर्नका लागि व्यावसायिक विकासका अवसरहरू सृजना गर्दै २१ औँ शताब्दीको उपयुक्त मानव संसाधनहरू तयार गर्नु एमओयूको अर्को उद्देश्य रहेको बताइएको छ । 

एमओयू हस्ताक्षर भएको मितिदेखि पाँच वर्षका लागि मान्य हुनेछ । एमओयू हस्ताक्षर कार्यक्रममा दुवै विश्वविद्यालयका प्राध्यापक एवं अधिकारीहरूको बाक्लो उपस्थिति रहेको एयुका प्रतिनिधि पञ्चदेव भट्टले जानकारी दिनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button