तपाईँ सुन्दै हुनुहुन्छः

मनकामनाको गुरुयोजना कार्यान्वयनका लागि सहयोग गर्छु : श्रम मन्त्री श्रेष्ठ

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले मनकामना मन्दिरको गुरुयोजना कार्यान्वयनका लागि सरकारले सहयोग गर्ने बताउनुभएको छ । 

बडादसैँको आठौँ दिन आज मनकामना मन्दिरको दर्शन गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले मनकामना क्षेत्र विकास समितिका पदाधिकारीसँगको भेटमा सो कुरा बताउनुभएको हो । 

मनकामना क्षेत्र विकास समितिले तयार पारेको गुरुयोजनाका बारेमा जानकारी लिँदै उहाँले गुरुयोजनालाई छिटो कार्यान्वयन गर्न आफूले सरकारका तर्फबाट पहल गर्ने बताउनुभयो । “मनकामना मन्दिरको विकासका लागि व्यक्तिगत र सरकारका तर्फबाट मेरो पहल रहनेछ,” उहाँले भन्नुभयो । 

सो क्रममा मनकामना क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार जोशीले गुरुयोजनाका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराउनुभएको थियो । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेको मनकामना मन्दिर गत भदौ २३ गतेदेखि खुल्ला गरिएको हो । प्रसिद्ध मनकामना मन्दिर दर्शन गर्न हजारौँ भक्तजन बर्सेनि यहाँ पुग्छन् । पूजाआजा गर्दछन्, बलि दिन्छन् र परेवा उडाउँछन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button