तपाईँ सुन्दै हुनुहुन्छः

दशैंमा जथाभाबी मूल्यवृद्धि उपभोक्तालाई सास्ती

सुर्खेत । चाडपर्वको मौका छोपी सुर्खेत आसपासका क्षेत्रका व्यापारीले तरकारी, दैनिक उपभोग्य वस्तु, लत्ताकपडा र रंगरोगनका सामाग्रीमा आफूखुसी मूल्य बढाएका छन् । बजार अनुगमन तीव्र पारिए पनि व्यापारीले अखाद्य वस्तु र म्याद नाघेका उपभोग्य सामग्री विक्री वितरणसँगै मनलाग्दी मूल्यवृद्धि गर्न छोडेका छैनन् । 

चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको मूल्य दिनप्रति बढ्दै गइरहेको छ । सबैजसो व्यापारिक केन्द्रहरूमा व्यापारीको मनोमानी बढेको छ । यसअघि २ सय ६० रुपैयाँ प्रतिलिटर पर्ने खाने तेलको मूल्य १० रुपैयाँ बढाइएको छ भने चामल प्रतिबोरा ३० देखि ५० रुपैयाँ बढाएर बिक्री गर्न थालिएको छ । 

बजारमा १ सय २० रुपैयाँ पर्ने दालमा १० रुपैयाँ बढाइएको स्थानीय हरिमाया ढकालले बताउनुभयो । उहाँका अनुसार ४० देखि ५० रुपैयाँमा बिक्री हुने तरकारीको मूल्य प्रतिकिलो ८० देखि १०० रुपैयाँ बनाइएको छ । 

मूल्य वृद्धिको असर आर्थिक रुपमा विपन्न र मजदुरी गर्ने वर्गमा बढी परेको स्थानीय अगुवा पीताम्बर ढकालले बताउनुभयो । ‘कसैलाई त चाडपर्वमा पनि बिहान–बेलुकाको छाक टार्न समस्या छ,’ उहाँले भन्नु भयो, ‘उनीहरूलाई चाडपर्वमा झन् सहुलियत दिनुपर्नेमा व्यापारीले मूल्य बढाइरहेका छन् ।’ कोरोना महामारीले अधिकांश विपन्नको रोजगारी गुमेपछि जीविकोपार्जनमा समस्या भएको उहाँले बताउनु भयो । 

गाउँघरमा अभावको हल्ला फैलाएर व्यापारीले जथाभाबी भाउ बढाउँदै लगेको सृजना रोकायले बताउनुभयो । ‘काम गर्दा दिनमा ५ सय रुपैयाँभन्दा बढी ज्याला पाइँदैन,’ उहाँले भन्नु भयो, ‘महँगीका कारण त्यो ज्यालाले साँझ–बिहानको चुलो बाल्न पनि कठिन भयो ।’ कम्पनीहरूले नै मूल्य बढाउँदा बजारमा महँगी बढेको व्यापारीहरूको गुनासो छ । 

सदरमुकाम वीरेन्द्रनगरका व्यापारी ईश्वर श्रेष्ठले कम्पनीहरूले बढी परिणामको स्टिकर टाँसेर कम परिणामको सामान पठाउने गरेको गुनासो गर्नुभयो । उहाँले एक लिटरको तेल भनी ९ सयदेखि ९ सय एमएलसम्मको तेल कम्पनीले उत्तिबाट भरेर पठाउने गरेको बताउनु भयो । 

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले जथाभाबी मूल्य वृद्धि नगर्न, अखाद्य वस्तु बिक्री नगर्न र व्यापारिक मर्यादा कायम राख्न व्यवसायीलाई आग्रह गरिएको बताउनु भयो । चाडपर्वको समयमा उपभोक्तालाई ठगीमा पर्न नदिन बजार अनुगमनलाई तीव्रता दिइरहेको  जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्रीसम्शेर रानाले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button