तपाईँ सुन्दै हुनुहुन्छः

अझै नियन्त्रणमा आएन कपिलवस्तुमा झाडापखाला

कपिलवस्तु । जिल्लाको कृष्णनगर क्षेत्रमा अहिले झाडापखालाको प्रकोप बढ्दै गएर ६ सय बढी बिरामी भएका छन् । प्रकोप फैलिएको आज पाचौ दिन साँझ ४ बजे सम्म बिरामीको सङ्ख्यामा वृद्धि भई रहेको अस्पताल प्रशासनले जनाएको छ । बिहीबार बिहान ८ बजे सम्म ३७० जना बिरामी अस्पतालको सम्पर्कमा आए पनि साझा ५ बजे सम्म ४३० बिरामी पुगेका छन् । अन्य स्थानीय मेडिकल, क्लिनिक तथा स्वास्थ्य संस्थामा उपचार गराएका र गराइरहेका बिरामीहरूको सङ्ख्या १ सय ५० नाघेको छ ।

५ दिन देखिको यो प्रकोप अझै रोकिएको छैन । गत आइतबार साँझबाट  फैलिएको झाडापखालाका बिरामीहरू अहिले अस्पताल तथा निजी क्लिनिकमा उपचाररत छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ बहादु्रगञ्जमा रहेको शिवराज अस्पतालमा बेड अपुग भएपछि नजिकै रहेका  श्रीराम गोरखा मा.वि.को फिल्डमा बिरामीहरूको उपचार भइरहेको छ । 

राम गोरखा मा.वि.मा अहिले ३० जना र शिवराज अस्पतालमा ५२ जना बिरामीको उपचार भइरहेको छ । शिवराज अस्पतालको सम्पर्कमा आएको ४ सय ३० जना मध्ये अहिले ८२ जना अस्पतालमा उपचाररत रहेका छन् । ३४ जनालाई जिल्ला अस्पताल र प्रादेशिक अस्पताल रिफर गरिएको छ भने बिहीबार साँझ ५ बजे सम्म ३ सय १४ जना बिरामी डिस्चार्ज भएको डा. मुकेश चौधरीले जानकारी दिनु भएको छ ।

बहादुरगन्ज , सुखरामपुर , देवानगढिया , जमुनी , दयानगर, विजयनगर ,जुमिला, डबरा,जवाभारी लगायतका गाउँमा झाडापखाला र बान्ताका बिरामी निरन्तर बढ्दै गएको अस्पतालले जनाएको छ । 

अहिले यस अस्पतालमा ७ जना डाक्टरहरूले उपचार गरिरहेका छन् । यस प्रकोपका कारण दुई जनाको ज्यान गएको  थियो । दिशा र पानीको परीक्षणको रिपोर्ट अझै आइ नपुग्दा कारण भने पत्ता लागेको छैन ।

चेतनाको अभावका कारण सरसफाईमा ध्यान नदिँदा तथा दूषित पानीका कारण झाडापखालाको प्रकोप बढेको स्वास्थ्यकर्मीहरूको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button