तपाईँ सुन्दै हुनुहुन्छः

क्यानडाका घरघरमा जुम्ली मार्सी र सिमी

जुम्ला । चितवन जिल्ला स्थायी घर भएका डाक्टर पुर्ण कँडेल यति बेला क्यानडाका घरघरमा जुम्ली मार्सी र सिमीको स्वाद चखाउन व्यस्त छन् । ग्लोबल व्यापारीका रुपमा आफ्नो परिचय स्थापित गरिसकेका डा. कँडेलले जुम्लाका कृषि विज्ञ राज शाही सँगको सहकार्यमा पहिलो पटक क्यानडामा २० टन जुम्ली मार्सी, सिमी, कोदो निर्यात भएको थियो । त्यसपश्चात् जुम्ली मार्सी र सिमीको बजारीकरण क्यानडामा बढ्दै गएको छ । 

जुम्लाको सिमी, मार्सी धानको चामल, कोदो लगायतका अन्य रैथाने बालीको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको लायम कर्पोरेशन क्यानडाका प्रमुख डा.पुर्ण कँडेलले बताउनुभयो । “कर्णालीमा ठोस कृषि नीतिको अभाव, व्यवसायीक कृषि योजनाको अभाव, गुणस्तरीय उत्पादन, लेवलिङ प्याकेजिङ तथा बजारीकरणको अभाव देखिन्छ । कर्णाली प्रदेश सरकार तथा स्थानीय सरकारले कृषिमै लगानी गरे आर्थिक समृद्धि सम्भव छ ।”

करिब १५ वर्षदेखि क्यानडामा विभिन्न प्रकारका व्यापार व्यवसाय गर्दै आएका डा. कँडेलले नेपालबाट उच्च ओहोदाको सरकारी जागिर समेत छोडेर जानु भएको हो । विषादीरहित गुणस्तरीय कृषि उत्पादनको स्वादले सबैको मन तान्छ । त्यसैले कर्णालीमा कृषि क्रान्ति नै ल्याउने गरी सरकारी तथा गैरसरकारी निकायबाट लगानी र विभिन्न कार्यक्रम हुनुपर्नेमा जोड दिनुभयो । 

आजभोलि दैनिक जसो जुम्ली मार्सी र सिमीको बजारीकरणमै समय बिताउने गरेको छ । क्यानडामा बस्ने नेपाली लगायत क्यानडाका नागरिक समेत समेत दैनिक डा.कँडेलको सम्पर्कमा आएर मार्सी सिमी लिनेको घुइँचो समेत लाग्ने गरेको छ । दुर्गम जुम्लामा उत्पादन भएको मार्सी र सिमी जुम्लामा राज शाही र डा. पुर्ण कँडेलको कारण क्यानडाका घरघरमा मार्सी र सिमी पुगेको छ ।  

अन्तर्राष्ट्रिय बजारको माग अनुसार उत्पादन कर्णालीमा भएको खण्डमा त्यसको निर्यातका लागि प्रक्रियागत कुरामा आफूले सहयोग गर्ने समेत उहाँको भनाई छ । किसानलाई सम्मान,कृषि क्षेत्रलाई बढवा,गुणस्तरीय उत्पादन, जस्ता कृषि नीति निर्माण बिना कृषि क्षेत्रबाट अपेक्षित उपलब्धि हुन अझै समय लाग्ने देखिन्छ । 

साथै, व्यवसायीक योजना बिना कुनै पनि व्यवसाय सफल नहुने भएकोले कर्णालीको रैथाने कृषि उत्पादनलाई विश्व बजारमा चिनाउन र आर्थिक आम्दानी सँगै किसानको जीविकोपार्जन सुधार गर्न स्पष्ट कृषि नीति र व्यवसायीक योजना आवश्यक रहेकोले यसमा सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ । 

पछिल्लो समय क्यानडा मात्र नभई विभिन्न देशमा जुम्ली मार्सी, सिमीको माग अत्यधिक बढेको भए पनि कर्णालीको उत्पादनले पुराउन सकेको छैन । क्यानडामा डा.कँडेलले जुम्ली मार्सी सिमीको बजारीकरणमा दिएको योगदान र विदेशी नागरिकहरूको मार्सी, सिमीको माग हेर्दा हाम्रो सबै उत्पादन निर्यात गर्दा पनि अपुग हुने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button