तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुमा रोकिएन झाडापखालाको प्रकोप,पाँच सय बढी संक्रमित


कपिलवस्तु ।
जिल्लाको कृष्णनगर क्षेत्रमा फैलिएको झाडापखालाको प्रकोप बढ्दै गएको छ ।

गत आइतबार साँझबाट फैलिएको झाडापखालाबाट अहिलेसम्म पाँच सयभन्दा बढी बिरामी परेका छन् । प्रकोप फैलिएको आज पाँचौ दिन बिरामीको सङ्ख्या वृद्धि भई रहेको अस्पताल प्रशासनको भनाई छ ।

बुधवार साँझसम्ममा ३ सय २८ जना बिरामी अस्पतालको सम्पर्कमा आए पनि बिहीबार ४ सय बढी बिरामी पुगेका हुन् । अन्य स्थानीय मेडिकल,क्लिनिक तथा स्वास्थ्य संस्थामा उपचारत बिरामीहरूको संख्या १ सय भन्दा बढी रहेको बताइन्छ ।


बिरामी बढ्दै गएसँगै कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ बहादु्रगञ्जमा रहेको शिवराज अस्पतालमा बेड अपुग भएको छ । बेड अपुग भएसँगै बिरामीहरूलाई नजिकै रहेको श्रीराम गोरखा मा।वि।को फिल्डमा राखेर उपचार भइरहेको छ ।

बुधवार साँझसम्म १ सय २८ जना बिरामी निको भएर फर्किए पनि केही बिरामी फेरी सिकिस्त भएर अस्पताल भर्ना भएको अस्पताल प्रशासनले जनाएको छ ।

राम गोरखा मा।वि।मा अहिले ४० जना र शिवराज अस्पतालमा ११० जना बिरामीको उपचार भइरहेको छ ।

शिवराज अस्पतालको सम्पर्कमा आएको ४ सय जना मध्ये अहिले १ सय ५० जना अस्पतालमा उपचारत छन् । ३२ जनालाई जिल्ला अस्पताल र प्रादेशिक अस्पताल रिफर गरिएको छ भने बिहीबार बिहानसम्म २ सय २८ जना बिरामी डिस्चार्ज भएको अस्पतालका डाक्टर डा।मुकेश चौधरीले जनकारी दिनुभयो ।

बहादुरगन्ज , सुखरामपुर , देवानगढिया , जमुनी , दयानगर, विजयनगर ,जुमिला, डबरा लगायतका गाउँमा झाडापखाला र बान्ताका बिरामी निरन्तर बढ्दै गएको अस्पतालले जनाएको छ । बिरामीलाई अस्पतालले थेग्न सक्ने अवस्था नरहेको डा। मुकेश चौधरीले बताउनुभयो ।

अहिले यस अस्पतालमा ७ जना डाक्टरहरूले उपचार गरिरहेका छन् । प्रदेशबाट २ जना,जिल्लाबाट ४ जना र एक जना यसै अस्पतालमा कार्यरत डाक्टरहरूले उपचार गरिरहेको बताइएको छ । प्रकोपका कारण अहिलेसम्म दुई जनाको ज्यान गएको छ ।

अस्पताल भर्ना भएकाहरूमध्ये अहिलेसम्म कसैको ज्यान नगएको अस्पताल प्रशासनले जनाएको छ । अवस्था यस्तै रहेको खण्डमा उपचारको लागि औषधिको समस्या हुन सक्ने स्वास्थ्यकर्मीले चिन्ता गरेका छन् । दिशा र पानीको परीक्षणको रिपोर्ट अझै आई नपुगिसकेकोले प्रकोपको कारण भने पत्ता लागेको छैन ।


चेतनाको अभावका कारण सरसफाईमा ध्यान नदिँदा तथा दूषित पानीका कारण झाडापखालाको प्रकोप बढेको स्वास्थ्यकर्मीहरूको भनाई छ । यो समय स्थानीयहरूले दूषित पानीमा माछा मार्ने र त्यतिकै खाँदा बिरामी बढेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button