२०७८ साल कार्तिक ६ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

सीमा नाकाबाट दशै मनाउन फर्कनेको भिड, कोरोनाको संक्रमण बढ्ने सम्भावना

टीकाराम चौधरी २०७८ असोज १९ गते १६:२२

बर्दिया । रोजगारीको लागि भारतका विभिन्न शहरमा पुगेका नेपाली बर्दिया जिल्लाको सिमाना भएर फर्कने क्रम बढेसँगै कोरोना भाइरस सङ्क्रमणको सम्भावना बढेको छ । 

बर्दियामा मुख्य नाका सुरजपुर बाहेक बढैयाताल गाउँपालिकाको जमुनी, मधुवन नगरपालिकाको धनौरा र ताराताल तथा  राजापुर नगरपालिकाको भिम्मापुर नाकाबाट पनि छिटफुट रुपमा जिल्ला प्रवेश गर्नेहरू आएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको हो ।

नेपाल भारत बीचको ८२ किलोमिटर खुला सीमा रहेको बर्दिया जिल्ला प्रवेश गर्ने मुख्य नाका गुलरियाको सुरजपुरबाट छिटफुट रुपमा मात्रै नेपाल भित्रिने गरेका छन् । नेपाल भारत सीमा सुरजपुरबाट जिल्ला प्रवेश गर्नेहरू टाँगा र पैदल हिँड्दै नेपाल भित्रिने गरेको प्रहरीको भनाई रहेको छ । 

नेपाल भित्रिने बर्दियाको मुख्य नाका गुलरियाको सुरजपुरमै नाकामा अहिलेसम्म स्वास्थ्य चेकजाँचको कुनै व्यवस्था गरिएको छैन । त्यहाँ हेल्थ डेस्क पनि छैन । सामान्य सोधपुछ र अनुमानको भरमा प्रवेश दिइने गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले भारतबाट नेपाल प्रवेश गर्ने मुख्य प्रवेश विन्दु सुरजपुरमा गुलरिया नगरपालिकासँगको समन्वयमा हेल्थ डेस्क स्थापना गर्न लागिएको बताउनुभयो । उहाँले हेल्थ डेस्क स्थापना भएपछि लक्षण देखिएकाहरुलाई सीमामै एन्टिजेन्ट परीक्षण गर्ने र पोजेटिभ देखिए स्थानीय तहको समन्वयमा क्वारेनटिन वा आइसोलेसनमा राखिने बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले सीमा नाकाहरूमा स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क स्थापनाका लागि स्थानीय तहहरूलाई पत्राचार र समन्वय गरिएको जानकारी दिनुभयो । 

सम्बन्धित