तपाईँ सुन्दै हुनुहुन्छः

राज्यमन्त्री श्रेष्ठद्वारा भक्तपुरका तीन अस्पतालको निरीक्षण

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रको निरीक्षण एवं अवलोकन गर्नुभएको छ ।

सो क्रममा राज्यमन्त्री श्रेष्ठले भक्तपुरका तीन सरकारी अस्पतालले प्रवाह गरेको सेवाका बारेमा जानकारी लिँदै अस्पतालहरूलाई जनताका लागि सहज र गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । 

सरकारी अस्पतालको अवस्था, सेवा प्रवाह कस्तो रहेको छ र के कस्ता समस्याहरू छन् भन्ने जानकारी लिन साताव्यापी अस्पताल निरीक्षणको अभियान सुरु गरेको उल्लेख गर्दै राज्यमन्त्री श्रेष्ठले अस्पतालको अवस्था जानकारी लिएपछि मात्रै योजना बनाउन र कार्यान्वयनमा सहज हुने बताउनुभयो ।

गाउँ गाउँको अस्पतालमा जाने आफ्नो योजना रहेको भन्दै उहाँले स्वास्थ्यको क्षेत्रमा केही गरौँ भनेर सरकारी अस्पतालको अवस्था हेर्ने अभियान सुरु गरेको बताउनुभयो ।

अस्पताललाई दिनुपर्ने बिमाको पैसा अब सरकारले नरोक्ने बताउँदै राज्यमन्त्री श्रेष्ठले दशैअगाडि नै सबै सरकारी अस्पतालमा बिमा बापतको बाँकी रकम हामी पठाउने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर अस्पतालका मेसु डा सुमित्रा गौतम, क्यान्सर अस्पतालका निर्देशक डा विष्णु पौडेल र सहिद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले सम्बन्धित अस्पतालले दिँदै आएको सेवा, समग्र अवस्था, सम्भावना र समस्याका बारेमा राज्यमन्त्री श्रेष्ठलाई जानकारी गराउनुभयो ।

अस्पताल निरीक्षणका क्रममा  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंह, प्रमुख विशेषज्ञ सल्लाहकार महेश्वर श्रेष्ठ, नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button