तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय जनगणना : नागरिकले नबुझ्दा सुपरिवेक्षकलाई सास्ती

तनहुँ । सरकारले प्रत्येक दशमा वर्षमा गर्ने राष्ट्रिय जनगणनाका लागि यति बेला प्रत्येक नागरिकको घर दैलोमा सुपरिवेक्षक खटिएको छ । सुपरिवेक्षकलाई घर तथा घरपरिवार सूचीकरणका लागी खटाएको सरकारले बेलैमा जनगणना सम्बन्धी पर्याप्त प्रचार गर्न नसक्दा कार्य क्षेत्रमा दुख भोगेको सुपरिवेक्षकले गुनासो गरेका छन् ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकामा सुपरिवेक्षकको रुपमा कार्यरत अस्मिता सुनारले अधिकांश नागरिकहरूले जानकारी दिन आनाकानी गर्ने गरेको अनुभव सुनाउनुभयो । ‘ठुला घरका माथिल्लो तल्लामा बस्ने घरबेटीहरूका कारण बढी  समय लाग्यो’, सुनारले भन्नुभयो, ‘सिधै प्रवेश गर्न गाह्रो बोलाउँदा समेत चासो नदिने ।’

उहाँले वडा तथा गाउँ नगरपालिका लगायतका संस्थाहरूले समेत विभिन्न समयमा गर्ने सर्वेक्षणका कारण नागरिकहरूले चासो नदिएको बताउनुभयो । जिल्लाका अधिकांश क्षेत्रमा खटिएका सुपरिवेक्षकहरूले सही तथ्याङ्क ल्याउन समस्या भएको जिल्ला जनगणना कार्यालय तनहुँमा गुनासो गरेका छन् ।

घर भाडामा दिनेहरूले कर तिर्नुपर्ने आशङ्काका कारण गलत सूचना दिने, जनगणनाको महत्त्वप्रति जानकारी नहुँदा सूचना दिन चासो नदिने, सुपरिवेक्षकलाई विश्वास नगर्ने लगायतका गुनासो कार्यालयमा प्राप्त भएको प्रमुख जिल्ला जनगणना अधिकारी नन्दलाल सापकोटाले बताउनुभयो ।

सापकोटाले जनगणनाको महत्त्व बुझाउने गरी आवश्यक प्रचार गर्न नसक्दा समस्या सिर्जना भएको हुन सक्ने बताउनुभयो । उहाँले सुपरिवेक्षकको गुनासो अनुसार शिक्षित समुदायबाट नै जनगणनामा समस्या सिर्जना भएको छ । ‘गाउँतिर अलि नबुझेकाहरूले बरु सही तथ्याङ्क दिएका छन् । तर शहर बजारमा रहेको शिक्षित, कानूनी तथा प्रशासनिक ज्ञान हुनेहरू बढी बाठो हुँदा समस्या भएको हो ।’ उनीहरूले अनावश्यक कुराकानी गरेर सुपरिवेक्षकलाई भुलाउने, सही तथ्याङ्क दिँदा समस्या हुने आशङ्का व्यक्त गर्ने गरेको सापकोटाले बताउनुभयो ।

जिल्ला जनगणना कार्यालयका सहायक अधिकारी नवराज पोखरेलले नागरिकहरूमा तथ्याङ्क दिनुपर्छ भन्ने बुझाई नहुँदा सुपरिवेक्षकहरूले समस्या भोगेको बताउनुभयो ।

‘मेरो गणना मेरो सहभागिता’ नारा तय गरेर गत वैशाखमा गणनाको तयारी गरिए पनि कोरोना महामारीका कारण स्थगित भएको थियो । अहिले घर तथा घरपरिवार सर्वेक्षण सकेर गणक मार्फत  प्रत्येक घर परिवारमा पुगी मुख्य प्रश्नावली फारम मार्फत घरपरिवार तथा व्यक्तिको घरपरिवार तथा व्यक्तिको लिङ्ग, उमेर, जाति, भाषा, धर्म, वैवाहिक स्थिति, बसाइसराइ, शिक्षा, आर्थिक क्रियाकलाप लगायत विवरण सङ्कलन गर्ने तयारी भइरहेको छ । आगामी कार्तिकको २५ देखि मङ्सिर ९ सम्म गणकहरू नागरिकको घरघरमा जाने तयारी गरिरहेका छन् ।

सहायक अधिकारी पोख्रेलले दिएको जानकारी अनुसार तनहुँमा १ सय ३० सुपरिवेक्षक खटिएका छन् भने झन्डै पाँच सय गणकलाई नागरिकको घर दैलोमा पठाउने तयारी भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button