तपाईँ सुन्दै हुनुहुन्छः

व्यास नगरपालिकामा ’घरनक्सा’ सफ्टवेयर सञ्चालनमा, अब अनलाइनबाटै भवन निर्माण अनुमति

तनहुँ । तनहुँको व्यास नगरपालिकामा अनलाइनबाट भवन निर्माण अनुमति प्रक्रियाका लागी “घरनक्सा“ सफ्टवेयर सञ्चालनमा ल्याइएको छ ।

भवन निर्माण अनुमति प्रक्रिया तथा भवन निर्माण सुपरिवेक्षण जाँच गर्ने कार्यलाई व्यवस्थित, वैज्ञानिक र चुस्त बनाउनको लागि “घरनक्सा” अनलाइन भवन निर्माण अनुमति प्रक्रियाको प्रयोग गरी सञ्चालन गर्न व्यास नगरपालिका र भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपालबीच गत असार १५ मा सहमति भएको थियो। सोही सहमति अनुसार भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपालले “घरनक्सा” निर्माण, सञ्चालन र मर्मतमा परामर्श सेवा उपलब्ध गराएको छ ।

सोमबार जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उक्त सफ्टवेयरको प्रयोग गरी सेवा सुचारु गरेका थिए । सो अवसरमा घरनक्साको प्रक्रिया लामो हुँदा व्यवस्थित हुन नसकेको प्रमुख वाग्लेले बताउनुभयो । उहाँले अगाडी भन्नुभयो ’अब सेवाग्राहीले पहिले जस्तो दुख पाउने छैनन् ।’

’कर पनि अनलाइन माध्यमबाट तिर्ने व्यवस्था भए कर प्रणाली सहज हुन्थ्यो ।’ प्रमुख वाग्ले भन्नुभयो ’मोबाइल बैङ्किङमार्फत कर तिर्ने व्यवस्था गर्न व्यास नगरपालिकालाई अनुरोध गर्छु ।’ देशमै उत्कृष्ट प्रविधिमैत्री नगरपालिका बन्न व्यास नगरपालिकालाई प्रमुख वाग्लेले सुझाव दिनुभएको थियो ।

नगरपालिकामा प्रत्येक वर्ष ६००–७०० को सङ्ख्यामा भवनहरू निर्माण भइरहेको र घरधनीहरू भवन निर्माण अनुमति प्रक्रियाका लागि पटक पटक नगरपालिकाको कार्यालय जानुपर्ने बाध्यता हटाउन उक्त सफ्टवेयर सञ्चालनमा ल्याइएको व्यासनगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । 

घरनक्साको प्रयोगबाट भवन निर्माण अनुमतिका सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्ने र भवन निर्माण अनुमति प्रक्रियाको इलेक्ट्रोनिक अभिलेखीकरण गर्ने नगरपालिकाले जनाएको छ । 
यस्तै आवश्यकता अनुसार तथ्याङ्कहरूको विश्लेषण गरी उपयुक्त नीतिहरू तर्जुमा गर्न सहयोग गर्ने, भवन अनुमति प्रक्रियालाई पारदर्शी बनाउने तथा भवन संहिता तथा भवन मापदण्डको पालनामा उल्लेखनीय वृद्धि गर्न सघाउने उद्देश्य रहेको समेत नगरपालिकाले जनाएको छ ।

अहिलेसम्म व्यास नगरपालिकामा भवन अनुमति प्रक्रियाका कागजात तथा रेकडहरू कागजी फारममा भण्डारण गरिएको र कागजातहरूको विशाल मात्रा, यसको भण्डारण र समयमा कागज आधारित डाटा गमाउने सम्भावना नगरपालिकाको लागी एक गम्भीर चिन्ताको विषय बनेको हुँदा सो सफ्टवेयर प्रयोगमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

अहिले सम्म यहाँ निर्माण गरिएका भवनहरूको डिजिटल डाटाबेसको नभएको साथै भवन निर्माणको अनुगमन र भविष्यको योजनाको लागी भवनहरूको तथ्याङ्क राख्ने व्यवस्था नभएको हुँदा समस्या देखिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको लागि एक प्रभावकारी र सहज नक्सा पास प्रक्रिया प्रणालीको विकास गर्न घरनक्साको माध्यमद्वारा घरधनीहरूलाई सहज प्रणाली, ग्राहक सेवा वृद्धि र भवन निर्माणको तथ्याङ्क सुरक्षित भण्डारणको अवधारणा बनेको भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button