तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा राइनोजद्वारा काठमाडौँ किङ्स–११ पराजित

काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा पोखरा राइनोजले जित निकालेको छ ।

टियु क्रिकेट मैदानमा सोमबार पोखराले काठमाडौँ किङ्स–११ लाई डीएल पद्धतिको आधारमा १४ रनले हराएको हो । यस हारसँगै काठमाडौँको प्लेअफ कठिन बनेको छ । काठमाडौँ ४ खेलमा २ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ ।

अब प्लेअफमा पुग्न काठमाडौँलाई अन्तिम खेल जित्नै पर्ने भएको छ । पोखरा भने यस अघि नै प्लेअफ पुगिसकेको छ । दोस्रो स्थानमा उक्लिएको पोखराले ५ खेलमा ७ अङ्क जोडेको छ । 

काठमाडौँले दिएको १ सय ८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पोखराले १५ ओभरमा ५ विकेट गुमाएर १ सय ४२ रन जोडेको थियो । तर, भारी वर्षाको कारण पोखराले ब्याटिङ गरिरहँदा खेल रोकिएको थियो । त्यसपछि खेल पुनः सुरु भएन र डीएलको आधारमा पोखराले जित निकालेको हो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।

पहिलो खेलमा भैरहवा ग्लाडियटर्सले पनि प्ले अफमा स्थान पक्का गरेको छ । खेलमा अपराजित रहेको चितवन टाइगर्सलाई ६ विकेटले पराजित गर्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

चितवनको जारी लिगमा पहिलो हार हो । पराजित भएको चितवन ८ अङ्कका साथ शीर्ष स्थानमा यथावत् रहेको छ भने भैरहवा ६ अङ्कसहित दोस्रो स्थानमा उक्लिएको हो । चितवनले दिएको १६५ रनको लक्ष्य भैरहवाले १३ बल बाँकी छँदै ४ विकेट गुमाएर पुरा गरेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button