तपाईँ सुन्दै हुनुहुन्छः

दुर्गममा दशैं अगावै चामल पठाउने तयारी

सुर्खेत । चाडपर्व नजिकिएसँगै पहाडी तथा हिमाली जिल्लाहरूमा खाद्यान्नको माग बढ्दै गइरहेको छ । हिमाली जिल्लाहरूमा मानसरोवर जाने पर्यटक आउनुका साथै चाडपर्व नजिकिएकाले आम नागरिकले खाद्यान्न मौज्दात गर्न थालेपछि चामलको माग बढ्दै गएको हो । 

माथिल्लो डोल्पा बाहेक कर्णालीका सबै खाद्य डिपोमा पर्याप्त चामल मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयले जनाएको छ । मुगु लगायत कतिपय जिल्लाहरूमा स्थल मार्गबाट चामल ढुवानी भइरहेकाले सङ्कटको अवस्था नरहेको कम्पनीका सुर्खेत कार्यालय प्रमुख माधव मिश्रले बताउनुभयो । 

उहाँले माथिल्लो डोल्पामा सडकको असहजतासँगै स्थानीय तहले कर्णाली प्रदेश सरकारको अनुदानमा चामल वितरण गरेकाले अनुकूल मौसम पर्खंर्दै हाल खाद्यान्न ढुवानीलाई तीव्रता दिन लागिएको जनाउनुभयो । उहाँका अनुसार दशैं अगावै खाद्यान्नको माग भएका स्थानमा चामल ढुवानी हुने पक्का भएको छ । ‘माथिल्लो डोल्पाका लागि नमुना ढुवानी सेवा मार्फत सुर्खेत र नेपालगञ्जबाट चामल ढुवानी तयारी शुरु गरिसकेका छौँ,’ उहाँले भन्नु भयो, ‘जाजरकोट जिल्लाका केही स्थानमा समेत चामलको माग आएकाले दशै अगावै मागलाई सम्बोधन गर्न हामी सक्षम छौँ ।’ 

उहाँले मुगु र डोल्पामा खाद्यान्न अभाव भन्ने मिडियामा आएजस्तो जिल्लाभरि नभई केही स्थानमा चामलको माग भएकाले स्थल र हवाई मार्ग मार्फत चामल ढुवानी तीव्र पारिएको बताउनुभयो । कम्पनीको सुर्खेत गोदामबाट सोमबार मुगुका लागि स्थल मार्गबाट खड्का निर्माण सेवाले १ सय ७० मेट्रिक टन चामल पुर्‍याएको कम्पनीले जनाएको छ । 

सुर्खेत स्थित कम्पनीको गोदाममा अहिले पनि पहाडी तथा हिमाली जिल्लामा पठाउनका लागि २२ हजार क्विन्टल चामल मौज्दात रहेको सुर्खेत स्थित प्रादेशिक कार्यालयका लेखापाल विनोद पौडेलले बताउनु भयो । उहाँले हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा चामल पठाउने तयारी पुरा भएको जनाउनु भयो । अहिले यी जिल्लाहरूमा चामलको माग अत्यधिक छ । 

निजी क्षेत्रभन्दा सरकारी चामल सस्तो हुने हुँदा यी जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको माग बढ्दै गएको हो । ‘पहाडी जिल्लामा चामलको माग अत्यधिक हुन्छ,’ उहाँले भन्नु भयो, ‘हामी जति सक्दो छिटो चामल पठाउने तयारी गरेका छौँ ।’ अति आवश्यक परेमा सुर्खेतसँगै नेपालगञ्जबाट समेत चामल पठाउने गरेको भए पनि जनशक्ति अभाव हुँदा पहाडी जिल्लाका केही दुर्गम डिपोमा चामल वितरणमा असहजता हुने गरेको उहाँले बताउनु भयो । 

यसका बाबजुद पनि दशैं अगावै नागरिकलाई सस्तोमा चामल उपलब्ध गराउने गरेर काम भइरहेको उहाँको भनाइ छ । सुर्खेत र नेपालगन्जबाट पहाडी जिल्लाका २१ स्थानमा चामल ढुवानी हुन्छ । ती जिल्लाबाट यो भन्दा बढी चामलको माग आए पनि केन्द्रको अनुमति लिएर पठाउने गरिएको उहाँले जानकारी दिनु भयो । कम्पनीको सुर्खेत गोदाममा अरुवा मोटा चामल, अरुवा मध्यम र स्टिम जिरा मसिनो चामल पाइन्छ । 

भित्री मधेश भन्दा पहाडी जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको माग बढी छ । चामल ढुवानीमा ढिलाइ हुँदा पहाडी तथा हिमाली जिल्लाका सर्वसाधारणलाई प्रायः चाडपर्व एवं वर्षातमा अहिले पनि खाद्य सङ्कटको सामना गर्नुपर्ने बाध्यता कायमै रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button