तपाईँ सुन्दै हुनुहुन्छः

गलैँचा बुनाइबाट आत्मनिर्भर बन्दै सिन्धुका महिला

सिन्धुपाल्चोक । केही महिना अघिसम्म घर धन्दामा मात्र व्यस्त रहनु भएकी चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ की सुकरानी तामाङ अहिले महिनामा ८/१०  हजार कमाउनु हुन्छ । चौतारा साँगाचोकगढी नगरपालिकाले तीन महिने गलैँचा बुनाई तालिम दिएपछि घरमा नै बसेर गलैँचा बुनेर महिनाको आठ दस हजार उहाँले  कमाउन थाल्नु भएको हो । 

घरको कामधन्धा सकाएर फुर्सदको समयलाई सदुपयोग गर्न पाएकोमा उहाँ खुशी हुनुहुन्छ । गलैँचा बुनाइबाट हुने मासिक आम्दानीबाट घर खर्च टरेको प्रति उहाँ अझ सन्तुष्ट भएको बताउनु हुन्छ । आफूले भर्खरै मात्र  गलैँचा बुन्न सिकेको कारण आम्दानी कम भए पनि सिपालुले महिनाको २० हजार भन्दा बढी कमाउने गरेको उहाँको कथन छ ।

हुन पनि चौतारा साँगाचोकगढी स्याउलेकी पेमा लामाले गलैँचा बुनेर मात्र मासिक २० हजार कमाउँदै आउनु भएको छ । २०७२ साल अघि काठमाडौंं बौद्धमा बसेर गलैँचा बुन्दै आउनु भएकी लामा सोही सालको १२ गतेको भूकम्पपछि काठमाडौँ फर्कनु भएन । बरु उल्टै गलैँचा बुन्ने काम घरबाट नै थाल्नु भयो । घरको कामधन्दा सकाएर फुर्सदको समयमा गलैँचा बुन्दा आम्दानी पनि हुने र घर परिवारको राम्रो हेरचार पनि गर्न सकिने भएपछि  स्याउलेमा नै बसेर गलैँचा बुन्न थाल्नु भएको उहाँ बताउनु हुन्छ ।        

चौतारा साँगाचोकगढी नगरपालिकामा मात्र सयौँ महिलाहरू गलैँचा बुनाइबाट स्वरोजगार भएका छन् । त्यस्तै जिल्लाको जुगल, हेलम्बु, लिसंखुपाखर, पाँचपोखरी थाङपाल गाउँपालिका र मेलम्ची नगरपालिकाका महिलाहरूको पनि मुख्य आयस्रोत गलैँचा बुनाइ भएको छ । फुर्सदको समयमा घरमा नै बसेर राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय सिन्धुपाल्चोकका महिलाहरू गलैँचा बुनाइमा आकर्षित हुन थालेका हुन् । 

महिला स्वरोजगारसँगै  बजारीकरण पनि राम्रो हुन थालेपछि स्थानीय सरकारले पनि गलैँचा बुनाई तालिम सञ्चालनसँगै गलैँचा बुन्ने तान लगायत आवश्यक सामाग्री पनि निःशुल्क वितरण गर्दै आएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले मात्र झण्डै दुई सय भन्दा बढी तान र आवश्यक सामाग्री निःशुल्क वितरण गरेको उपमेयर जानुका पराजुलीले जानकारी दिनु भयो । नगरपालिकाले सञ्चालन गर्दै आएको अरू तालिम भन्दा गलैँचा बुनाई तालिम प्रभावकारी रहेको उपमेयरको पराजुलीलेको अनुभव छ । अहिले पनि स्याउले, झ्याँडी र साँगाचोकमा गलैँचा बुनाई तालिम सञ्चालन हुँदै आएको छ उहाँले जानकारी दिनु भयो ।

गुणस्तरीय गलैँचाका लागि बजारको अभाव नभएको प्रशिक्षक एवम् व्यवसायी केशरी तामाङको भनाई छ । हाम्रो गलैँचा नेपालमा भन्दा पनि विदेशमा खपत भएको छ व्यवसायी तामाङले भन्नु भयो । गलैँचा बुन्नका लागि धागो लगायतका  सामाग्रीहरु आफूले ल्याई दिने र बुने बापतको ज्याला गलैँचाको स्तर हेरेर भुक्तानी दिने गरेको गलैँचा व्यवसायी केसरी तामाङले बताउनु हुन्छ ।  

मेहनत गर्न जाँगर चलाउने हो भने त्यतिकै खेर जाने फुर्सदको समयलाई सदुपयोग गरेर पनि मनग्गे आम्दानी गर्न सकिने उदाहरण बनेका छन् सिन्धुपाल्चोकका महिला । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button