तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गरिने

काठमाडौँ । जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ । कोरोना सङ्क्रमणका कारण धराशायी बन्दै गएको नेपालको पर्यटन क्षेत्र पुनः उत्थानका लागि उक्त परियोजनाले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रमअन्तर्गत नदी सफा गर्न दिएको हो । 

आइतबार भोटेकोशीबाट सुरु गरिएको कार्यक्रम मङ्गलवार त्रिशूली र शुक्रवार कर्णालीमा शुभारम्भ गरिने नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीजका महासचिव शिशिर खनालले जानकारी दिनुभयो । उक्त कार्यक्रमअन्तर्गत   रिभर गाइड र कर्मचारीले नदी सफा र पहुँच मार्ग मर्मत गर्नेछन् । एक मजदुरलाई १२ दिनको रोजगार दिइने उक्त कार्यक्रममा २०० रिभर गाइड एवं कर्मचारीले काम पाउनेछन् । उनीहरूले काम गरेबापत परियोजनाले दैनिक रु एक हजार प्रदान गर्नेछ । 

नेपालमा रहेका करिब छ हजार नदी नालामध्ये कर्णाली, कालीगण्डकी, त्रिशूली, भोटेकोशी, सुनकोशी, अरुण, तमोरलगायत १६ नदी साहसिक जलयात्राका लागि खुला गरिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button