तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीय संसदबाट आर्थिक वर्ष २०७८/८९ को बजेट पारित

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनबाट आर्थिक वर्ष २०७८/८९ को बजेट पारित भएको छ ।

सङ्घीय संसदबाट बजेटसँग सम्बन्धी तीन वटै विधेयकहरू विनियोजन विधेयक २०७८, “आर्थिक विधेयक, २०७८” र “राष्ट्र ऋण उठाउने विधेयक, २०७८” पारित भएसँगै बजेट पारित भएको हो । 

प्रतिनिधि सभाको आजको बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त “आर्थिक विधेयक, २०७८” र “राष्ट्र ऋण उठाउने विधेयक, २०७८” बारे जानकारी गराउनु भएको थियो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट विनियोजन विधेयक विधेयक प्रमाणीकरण सम्बन्धी प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउनु भएको थियो । 

“आर्थिक विधेयक, २०७८” र “राष्ट्र ऋण उठाउने विधेयक, २०७८” पनि सभामुखले प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउने छ । 

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले विरोध गरी नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक नियमित रुपमा अवरोध हुँदा महत्त्वपूर्ण विषयमा छलफल गर्न बाधा उत्पन्न भएको विषयमा सांसदहरूलाई सचेत गराउनु भएको थियो । 

सभामुख सापकोटाले संविधानको १०५ ले अदालतमा विचाराधीन विषय सङ्घीय संसद्मा छलफल गर्न बन्देज गरेको विषय सांसदहरूलाई स्मरण समेत गराउनु भएको थियो । 

प्रतिनिधि सभाको अर्को बैठक असोज १४ गते बिहीबार दिउसो १ बजे बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button