तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ किङ्सद्वारा ललितपुर प्याट्रीयट्स ७ विकेटले पराजित

file photo

काठमाडौँ । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट शनिवारदेखि सुरु भएको छ । ईपीएलको उद्घाटन खेल काठमाडौँ किङ्स–११ र ललितपुर प्याट्रीयट्सबीच प्रतिस्पर्धा भएको थियो । 

टियु क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा काठमाडौँ किङ्सले ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

ललितपुरले दिएको १ सय ५८ रनको लक्ष्य काठमाडौँले १४ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्न सफल भयो । 

काठमाडौँको जितका लागि रायन बर्ल र रहमानउल्लाह गुर्बाजले अर्ध शतकीय इनिङ्स खेले । रायनले अविजित रहँदै ७३ रन जोड्नुका साथै ३४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । उनी प्लेयर अफ दि म्याच समेत चुनिन सफल भए ।

गुर्बाजले ३६ बलमा ४ चौका र ४ छक्कासहित ५९ रन बनाए । यस्तै राजु रिजाल १९ रनमा अविजित रहे भने अमित श्रेष्ठ ४ तथा सुवास खकुरेल शून्य रनमा आउट भए ।

ललितपुरका पवन सर्राफले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो  ।

ललितपुरका लागि पवन सर्राफले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । पहिलो बलमै कप्तान कुशल भुर्तेललाई शून्य रनमा गुमाएको ललितपुरका लागि पवनले ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै योगेन्द्र सिंह कार्कीले ३३ रन जोड्दा शङ्कर रानाले १४ रन बनाए । भुटानी खेलाडी रनजुङ मिक्यो दोर्जीले अविजित १७ रन जोड्दा नारायण जोशीले १२ रन बनाए ।

ओशाडा फर्नान्डो ४, संदन विराकोडे २ तथा राशिद खान १ रनमा आउट भए । ललित राजवंशी शून्य रनमा अविजित रहे ।

काठमाडौँका जितेन्द्र मुखियाले ४ विकेट लिए । रायन बर्ल र गुलशन झाले २/२ विकेट लिए । काठमाडौँका कप्तान सन्दीप लामिछाने र शाहिद अफ्रिदीले विकेट लिन सकेनन् । जितसँगै काठमाडौँले पहिलो खेलमा २ अङ्क जोडेको छ ।

इपीएल अन्तर्गत आइतबार दुई खेल हुने छन् । पहिलो खेलमा विराटनगर वारिवर्स र चितवन टाइगर्स साथै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोज भिड्ने छन् । 

प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button