तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्वहरू नजिकिँदै गर्दा कास्कीमा सुरक्षा व्यवस्था कडा

पोखरा । चाडपर्वहरू नजिकिँदै गर्दा हुनसक्ने सम्भावित घटनाहरूलाई रोक्न कास्की प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । 

नेपालीहरूको महान् चाड दशै–तिहार नजिकिँदै गर्दा जिल्ला प्रहरी कार्यालय कास्कीले पर्व विशेष सुरक्षा योजनाको तयारी थालेको हो । 

चाडपर्वको मौका छोपेर हुन सक्ने चोरी, डकैती, लागु औषधको ओसारपसार, बजार महँगी तथा अमर्यादित क्रियाकलापलाई रोक्न प्रहरीले चेकजाँचमा कडाइ गर्नुका साथै सिसिटिभीबाट समेत निगरानी राखेको छ । 

पर्वको समयमा सहरमा सवारी र नागरिकको चाप बढ्ने भएकाले सम्भावित आपराधिक क्रियाकलाप रोक्न बैक तथा वित्तीय संस्थाहरूमा हुन सक्ने सुरक्षा चुनौती, चोरीका घटनाहरू र पर्यटकीय स्थलहरूमा हुनसक्ने अवाञ्छित गतिविधिलाई रोकथाम गर्न तथा संलग्नहरूलाई नियन्त्रणमा लिनका लागि विशेष सुरक्षा व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो । 

सुरक्षाका लागि रोमियो टोली, मेट्रो टोली , पिकेट, पट्रोल, मोबाइल भ्यानहरू साथै सादा पोसाकमा समेत प्रहरी परिचालन हुनेछन् । 

चाडपर्वलाई लक्षित गरी असोज १० गतेदेखि पोखराका मुख्य चोकहरूमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याउने प्रहरीले तयारी गरेको छ ।

चाडपर्वको बेला सवारी चाप बढ्ने हुँदा हुन सक्ने सम्भावित सवारी दुर्घटनालाई रोक्न नियमित हुँदै आएको चेकिङ बाहेक आकस्मिक जाँच पनि गरिने र सवारी अनियमितताको निगरानी बढाउने ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button