तपाईँ सुन्दै हुनुहुन्छः

चन्द्रागिरि : घाम र कुहिरोसँग लुकामारी……..

चन्द्रागिरि । फुसफुस उड्दै आउने कुहिरोको शीतल स्पर्श । फेरि छिनमै पारिलो घामको न्यानोपन ।

बादलसँगै कुहिरोको शीत र घामको किरणको लुकामारी चल्छ । यही स्वर्णिम मौसमका कारण काठमाडौँका शिर झैँ उभिएको अग्लो चन्द्रागिरिको चुचुरो अचेल बादलभित्रको स्वर्ग झैँ रमणीय बनेको छ । यति बेला चन्द्रागिरि पुग्ने पर्यटक त्यसैमा रमाएर फुरुङ्ग छन् ।

आगन्तुक हरियो डाँडामा कुहिरो र घामको अलौकिक दृश्यलाई पृष्ठभूमि पारेर हतार हतार क्यामेरामा कैद गर्न मरिहत्ते गर्छन् । बढ्दै गएको चिसोकैमाँझ जाडो याममा भने यहाँ हिउँ खस्छ । हिउँसँग खेल्ने प्रतीक्षामा धेरै छन् । मनसुन घर्किँदै गएको बखत, बिहीबार घरी आकाश खुल्ने त घरी डम्म बादलले भरिने क्रम दिनभरजसो नै जारी रह्यो । बेलाबेलामा प्राप्त हुने तापिलो सूर्यको किरणले आगन्तुकलाई शरद् ऋतुले स्वागत गरेको झैँ मौसमको अनुकूलता अनुभूत गरायो । सिङ्गो काठमाडौँ उपत्यकालाई चन्द्रागिरिको टुप्पोबाट नियाल्न पाउँदा आगन्तुक दङ्ग पर्छन् । “खाल्डोभरिका घर त साना साना बट्टा जस्ता ओइ हेर न”, एक युवती सङ्गीसँग भन्दै हुनुहुन्थ्यो ।

पश्चिम नेपालबाट घुम्न आउनुभएकी ८७ वर्षीया आमा भद्रकला र श्रीमती नन्दासँगै ६६ वर्षका प्रमा थानीले त्यही मौसमको मजा लिनुभयो । चन्द्रागिरि यात्रा भद्रकलाका लागि पहिलो हो । उहाँले जीवनकै नौलो क्षण बटुल्नुभयो । आउँदा वनको माथिमाथि मन्द गतिको केबलकार यात्राले उहाँलाई थप पुलकित बनायो । केबलकारबाट तल हरिया थुङ्गा झैँ रुख देखिए । सयौँ थरीका बोटबिरुवाको रौनक अर्कै थियो । केबलकार वनको केही नजिक पुग्दा लता लहरामा फुलेका वन फूलको सौन्दर्यले मन उसै लोभ्याउँथ्यो । “यो बुढेसकालमा नयाँ ठाउँ घुम्न पाउँदा कति रमाइलो कति, पुरानो महत्त्व बोकेको ठाउँ पनि हो, एक पटक हेरौँ भनेर आएको”, भद्राकुमारीले पहिलो अनुभव रासससँग सुनाउनुभयो ।

माथि पुगेपछि ठाउँ ठाउँ सामूहिक अनि ठाउँ ठाउँ एक्ला एक्लै तस्बिर लिने आन्तरिक पर्यटक बाक्लै थिए । फाट्टफुट्ट विदेशीसमेत मिसिन्थे । पृथ्वीनारायण शाहको शालिक नजिक पुगेर औँलो उठाएको भान पार्दै पालैपालो तस्बिर कैद गर्न कसैले छुटाएनन् । यहाँ रहेको भालेश्वर मन्दिरसँगै मानव निर्मित आकर्षक संरचनामा रमाउन पाउँदा पर्यटक खुसी देखिन्थे । पर्यटक समूहगत रूपमै धेरै थिए । त्यसबीच काठमाडौँ बस्ने कल्पना शर्मा पनि साथीभाइसँग सेल्फीमा रमाउनुभयो । ठाउँ ठाउँमा प्रेमिल जोडी फरक फरक दृश्यमा रमाइरहेका भेटिए । समूहमा आएका एकै स्थानमा बसेर टिकटक बनाउँदै गीतमा नाच्ने गाउने गरिरहेका भेटिए । त्यति मात्र हैन विद्यालय खुल्ने वा बन्द हुने अन्योलका बीच रमाइलो गर्न पुगेका बालबालिका पार्कमा खेलकुदको मजा लिन भ्याए ।

लामो समयदेखि बन्द रहेर गत भदौ १९ बाट यहाँको केबलकार सञ्चालनमा आएपछि झनै चहलपहल थपिएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण उक्त केबलकार गएको वैशाख १६ गतेदेखि बन्द थियो । चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेखविक्रम शाहले स्वास्थ्यका मापदण्ड पालना गरेर केबलकार सञ्चालन गरिएको र अहिले बिस्तारै विभिन्न जिल्लाबाट मानिस घुम्न आउन थालेको जानकारी दिनुभयो । यहाँ अहिले जीपलाइन र रिसोर्टसमेत सञ्चालनमा छ । दैनिक एक हजार पर्यटक पुग्न थालेका छन् । बिदाको दिनमा बढी पुग्छन् । चन्द्रागिरिको फेदबाट अलिक उकालिएपछि केबलकारको व्यवस्थापन क्षेत्र सुरु हुन्छ ।

यहाँ पुग्ने पर्यटक छोटो समय जीप लाइनको मजा लिन पनि हौसिन्छन् । उनीहरू आकर्षक संरचनालाई पृष्ठभूमि पारेर सेल्फी लिन्छन् । चन्दागिरिबाट देखिने काठमाडौँ उपत्यकाको मनोरम दृश्यले जो कसैलाई लोभ्याउने गरेको उहाँ सुनाउनुहुन्छ । सहरको भिडभाड र सवारी साधनको हो–हल्लाबाट पर प्रकृतिको काखमा रहेको चन्द्रागिरि पर्यटकका लागि आजकाल मन बिसाउने चौतारी बनेको छ । यहाँ पुगेपछि व्यस्त सडकको धुवाँ धुलोबाट केही समय राहत मिल्छ ।

काठमाडौँ जिल्लाको दक्षिण पश्चिममा पर्छ चन्द्रागिरि । छोटो समयमा मजा लिएर फर्कन सक्ने क्षेत्र हो । त्यसमाथि केबलकारले थप सहज र छिटो बनाइदिएको छ । चन्द्रागिरि सधैँ व्यस्त रहने उपत्यकावासीको थकान भुलाउने मुख्य थलोका रुपमा पछिल्लो समय उदाउँदो छ ।

त्यसो त उपत्यका आसपासका धेरैजसो पहाड र पर्यटकीय क्षेत्रमा यसैगरी पर्यटक जाने गरेका छन् । चन्द्रागिरि मात्रै होइन कोभिड–१९ सङ्क्रमणका कारण प्रभावित पर्यटन क्षेत्रमा बिस्तारै चहलपहल बढ्न थालेको छ । आन्तरिक पर्यटक घुम्ने क्रम बढेको तत् क्षेत्रका पर्यटन व्यवसायीले बताएका छन् । फुलचोकी, काठमाडौँ, भक्तपुर र ललितपुरका दरबार स्वायर, सुन्दरीजल, स्वयम्भू, बौद्ध, बुढानीलकण्ठ, शिवपुरी, चोभार, नगरकोटलगायत क्षेत्रमा बिस्तारै चहलपहल बढेको छ ।

चन्द्रागिरि प्राकृतिक सुन्दरतासँगै धार्मिक तथा ऐतिहासिक महत्त्वसमेत जोडिएको छ । राष्ट्र निर्माता श्री ५ बडा महाराजा पृथ्वीनारायण शाहले ससुराली मकवानपुरबाट फर्किँदा यहाँबाट खाल्डोलाई नियाल्नुभएको इतिहास छ । गोर्खा राज्यलाई एकीकृत गर्ने पहिलो योजना उहाँले यहीँ बसेर बनाएको भन्ने विभिन्न ऐतिहासिक दस्ताबेजमा उल्लेख छ ।

यहाँ रहेको भालेश्वर मन्दिर धार्मिक स्थलका रुपमा प्रख्यात छ । यही मन्दिर दर्शन गरेर शाहले उपत्यका विजयको शक्ति प्राप्त गरेको लोक कथन पनि छ । त्यसैले यहाँ दर्शन गर्दा मनोकामना पूरा हुने विश्वास रहिआएको छ । यहाँ स्वस्थानी व्रत कथाअनुसार महादेवले बोकेर हिँड्नुभएकी मृत सतीदेवीको निधार पतन भएकाले भालेश्वर नाम रहेको किंवदन्ती छ ।

प्राकृतिक हिसाबले मनोरम चन्द्रागिरिबाट सगरमाथा, अन्नपूर्ण लाङटाङ, गौरीशङ्करलगायतका हिमशृङ्खलाको दृष्यपान गर्न किन्छ । विभिन्न चाडपर्वमा यहाँ मेला लाग्छ । हिमवत्खण्डको धार्मिक कथनअनुसार स्वर्गकी अप्सरा रम्भाले श्राप दिएपछि सुखुम गन्धर्व भौँतारिएर हिँडिरहेका बेला गालप ऋषिको उपदेशबमोजिम दर्शन गर्न जाँदा भालेश्वर महादेव प्रकट हुनुभएको हो ।

उसो त चन्द्रागिरि काठमाडौँ उपत्यकाको हरियाली प्रवर्द्धन गर्ने मुख्य पर्वत हो । साथै नजिकका भेगका खानेपानीको पूर्ति गर्ने प्रमुख स्रोत पनि हो । काठमाडौँको थानकोटस्थित गोदाम चौरबाट झन्डै १२/१३ मिनेटको केबलकार यात्रापछि यहाँ पुग्न सकिन्छ ।
यहाँ पुग्न सडक मार्ग र ट्रेकिङ रुट समेत छ । यहाँ पछिल्ला समयमा पैदलै चन्द्रागिरि पुगेर रमाइलो गर्ने पर्यटनकोसमेत वृद्धि हुन थालेको छ ।

चन्द्रागिरिबाट हाइकिङ रुट पनि सुचारु छ । जहाँबाट सिधै काठमाडौँबाट मकवानपुरको ऐतिहासिक पर्यटकीय स्थल चित्लाङसम्म पैदल मार्गबाट पुग्न सकिन्छ । श्री ५ पृथ्वीनारायण शाह यही बाटो हुँदै चन्द्रागिरि उक्लनुभएको थियो भन्ने भनाइ छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button