तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस नगर अधिवेशन : भक्तपुरका चारै नगरपालिकामा निर्वाचन हुने

भक्तपुर। नेपाली कांग्रेस भक्तपुरको चार नगरपालिकाको नगर अधिवेशनको निर्वाचन हुने भएको छ । काँग्रेसले चारवटै नगरपालिकामा सर्वसम्मत नेतृत्व चयनका लागि छलफल चलाएको छ ।

आकाङ्क्षी धेरै भएपछि आज बिहान ९ बजेदेखि सुरु हुने अधिवेशनमा निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन हुने जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिनुभयो । आज अधिवेशनसँगै उम्मेदवारी दर्ता गर्ने तथा आइतबार मतदानका लागि कांग्रेसले तालिका तयार गरेको छ । भक्तपुर, मध्यपुरथिमि, सूर्य विनायक र चाँगुनारायण नगरपालिका अधिवेशन स्थलमा बिहानैदेखि काँग्रेसका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति छ ।

चारै नगरपालिकामा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको प्यानलबाट छुट्टाछुट्टै उम्मेदवारी दिने चर्चा अधिवेशन स्थलमा चलेको छ । अन्तिममा केन्द्रीय तहमा जस्तो नेताहरूको समूहको रुपमा नभई स्थानीय परिस्थिति अनुसार नै प्यानल बनाएर उम्मेदवारी दर्ता हुने अधिवेशन स्थलमा उपस्थित जिल्ला स्तरीय एक नेताले बताउनुभयो । कांग्रेस भक्तपुरले यसअघि जिल्लाका ३८ वडाको अधिवेशन सम्पन्न गरिसकेको छ ।

नगर अधिवेशनमा नेतृत्व लिन नेताहरूको दौडधुप चलेको छ । नगर अधिवेशनको परिणामले नै क्षेत्र र जिल्लाको अधिवेशनलाई प्रभाव पार्ने देखिन्छ । जिल्लाका शीर्ष कांग्रेस नेताहरूले सक्रियता बढाएका छन् । मुख्य गरी सभापति दुर्लभ थापा र १३औँ महाधिवेशनमा सभापतिका प्रत्याशी अष्टकुमार कवेँको समूहबिच चारवटै नगरपालिकामा कडा प्रतिस्पर्धा हुने बताइएको छ ।

जिल्ला सभापति थापा, पूर्व जिल्ला सभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ, अष्टकुमार कवे, विनोद कायस्थ, बाबुराजा जोशी, कृष्णलाल भँडेल, कविर राणा, उद्धव सिलवाल, विदुरमानसिं बस्नेतलगागत नेता उम्मेदवार र मतदातालाई आफ्नो पक्षमा पार्न दौडधुपमा छन् । भक्तपुर नगरमा वर्तमान् सभापति रामप्रसाद कासुला र राजेन्द्र तमखु, मध्यपुरथिमिमा वर्तमान सभापति सुरेन्द्र श्रेष्ठ र हरिदास प्रजापति, सूर्य विनायक नगरमा जिल्ला सचिव निशान ढुङ्गेल र सूर्य विनायक नगर समितिका वर्तमान उपसभापति रवि राणा तथा चाँगुनारायण नगरको सभापतिमा वर्तमान सभापति एवं चाँगुनारायण नगरपालिका–२ का वडाध्यक्ष शिवहरि केसी, गोपाल पौडेल, राजु पुरीले उम्मेदवारी दिने तयारी गरेका बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button