२०७८ साल कार्तिक ६ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

तल्लो मोदी १ जलविद्युत आयोजनाको उत्पादन अझै ठप्प

रोशन तिवारी २०७८ असोज ८ गते १८:३३

पर्वत । पहिरोको कारण क्षतविक्षत भएको पर्वतको मोदी खोलामा सञ्चालित तल्लो मोदी १ जलविद्युत आयोजनाको उत्पादन अझै सुचारु हुन सकेको छैन । 

भदौ १७ गते रातीको भीषण वर्षासँगैको पहिरोले विभिन्न संरचनामा क्षति भएपछि विद्युत् उत्पादन ठप्प छ । 

युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित यो आयोजना तत्काल मर्मत गर्न नसकिने गरी क्षतविक्षत बनाएकाले उत्पादन सञ्चालन हुन नसकेको आयोजनाले जानकारी दिएको छ । 

बाढीले आयोजनाको नहर, बाँधस्थल, सेयर वाल, स्ल्याब लगायतका संरचनामा क्षति पुगेको छ । 

मुख्य स्टेशनमा पहिरोले कुनै क्षति नभए पनि बाहिरी संरचनाहरू भने बिग्रिएको आयोजना प्रमुख उपेन्द्र गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार आयोजनाको विद्युत् गृहदेखि मोदी सबस्टेशन जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनको चार नम्बर टावरसमेत पहिराले ढालेको छ । 

टावर ढलेसँगै तल्लो मोदी–१ को विद्युत् गृहमा पठाउने पानीको नहरको ५ सय मिटर भागमा लेदोसहितको माटो थुप्रिनुका साथै करिब एक किमी क्षेत्र क्षतविक्षत बनाएको थियो । त्यसबाहेक युनाइटेड मोदी आयोजनाले नै निर्माण गरेको विद्युत् प्रसारण टावरसमेत पहिरोले ढलेको छ ।

ढलेको टावर निर्माणमा मात्रै करिब रु.डेढ करोड खर्च लाग्ने आयोजना कार्यालयले जानकारी दिएको छ । 

आयोजनाको विद्युत् उत्पादन रोकिँदा दैनिक रु.१० देखि ११ लाखको नोक्सान भइरहेको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक गौतमले जानकारी दिनुभयो । 

बाढी र पहिरोका कारण नोक्सान मात्रै रु. पाँच करोडभन्दा बढी भएको उहाँले बताउनुभयो । अहिले मर्मतको काम चलिरहेको र अझै केही समय लाग्ने उहाँको भनाइ छ । 

आयोजनाको संरचना र हालसम्म उत्पादन हुने विद्युत्को नोक्सान मात्रै गरी करिब सात करोड भइसकेको उहाँले बताउनुभयो । 

पहिराले युनाइटेड मोदी कम्पनीले नै निर्माण गरेको प्रसारण लाइनको टावर ढाल्दा करिब दुई साता धवलागिरिको विद्युत् प्रसारण रोकिएको थियो । 

टावर पुरानै अवस्थामा पुनर्निर्माण गर्न अझै केही महिना लाग्ने कम्पनीले जानकारी दिएको छ । सोही टावर हुँदै १० मेगावाटको तल्लो मोदी–१ सहित म्याग्दीको अन्नपूर्ण–४ नारच्याङस्थित ४२ मेगावाटको मिस्त्री खोला, पाँच मेगावाटको घलेम्दी खोला र मुस्ताङको थासाङ–१ टुकुचेको १३ दशमलव ६ मेगावाटको थापा खोला जलविद्युत् आयोजनाको उत्पादन प्रसारण भइरहेको थियो । 

युनाइटेड मोदीको तल्लो मोदी–१ बाहेक म्याग्दी र मुस्ताङको विद्युत् भने भदौ ३१ देखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।  

गत माघमा सम्पन्न भएको खुर्कोट–दाना प्रसारण लाइन सम्पन्न भएपछि मुस्ताङ र म्याग्दीमा उत्पादित विद्युत् पनि यही बाटो हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । 

सम्बन्धित