तपाईँ सुन्दै हुनुहुन्छः

हामीलाई आर्थिक स्रोतभन्दा समयको अधिक महत्त्व छ : ऊर्जा मन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग विश्व बैङ्कको दक्षिण एशिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डल  शिष्टाचार भेट भएको छ । 

मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबिच विश्व बैङ्कको लगानी रहेका विविध आयोजनाका विषयमा छलफल भएको छ ।

सो अवसरमा मन्त्री भुसालले नेपालका विकासमा बैङ्कले पुर्‍याउँदै आएको योगदानको कदर गर्दै आगामी दिनमा लगानी थप विस्तार हुने र समयमै परियोजना सम्पन्न भई जनताले उपभोग गर्ने अवस्थामा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “हामी छिटो विकास गर्न चाहन्छौँ, आर्थिक स्रोतभन्दा समयको अधिक महत्त्व छ ।” मन्त्री भुसालले जनताको अधिकारका लागि आफूले निरन्तर सङ्घर्ष गरेको उल्लेख गर्दै वातावरण र जनताको अधिकार एवं पहिचानका विषयमा सधैँ सचेत रहने विश्वास दिलाउनुभयो ।

भेटमा विश्व बैङ्कका उपाध्यक्ष सेफरले नेपालको आर्थिक विकासमा विश्व बैङ्कले पुर्‍याउँदै आएको सहयोगका विषयमा जिज्ञासा राख्नुभएको थियो । नेपालको सडक पूर्वाधार, कृषि विकास, शैक्षिक उन्नति गरिबी निवारणलगायत क्षेत्रमा विश्व बैङ्कले लगानी गर्दै आएको उल्लेख गर्दै उहाँले आफूहरू ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको बताउनुभयो ।

छलफलका क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन समयमै सम्पन्न नहुँदा ऊर्जा खेर जाने अवस्था आएको उल्लेख गर्दै ऊर्जा विकासका लागि आफूहरूलाई समयको चाप रहेको बताउनुभयो ।

छलफलमा मन्त्रालयका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्की, सहसचिव द्वय मुकरप्रसाद राजभण्डारी र बाबुराम भण्डारीको सहभागिता थियो । त्यसैगरी विश्व बैङ्कको तर्फबाट उपाध्यक्ष सेफरसहित यातायात तथा दक्षिण एशियाको पूर्वाधार हेर्ने निर्देशक गुअङझे चेन तथा नेपाल, माल्दिभ्स र श्रीलङ्का लागि विश्व बैङ्कका देशीय निर्देशक फारिस हादाद–जेर्भोसको सहभागिता थियो ।

विश्व बैङ्कले नेपालको ऊर्जा क्षेत्रमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत नेपालभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापार सहजीकरण गर्दै आएको छ ।

 सोहीअन्तर्गत ४०० केभीको हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन र हेटौँडा–भरतपुर–बर्दाघाट २२० केभीको प्रसारण लाइन विश्व बैङ्कको सहुलियत पूर्ण ऋणमा निर्माण भइरहेको छ । 

विश्व बैङ्कको सहुलियत ऋणमा एक हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत अध्ययन भइरहेको छ । 

यही बुधवार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री भुसालसहितको सरकारी टोली र विश्व बैङ्कका उपाध्यक्ष सेफरको टोलीले माथिल्लो अरुणको स्थलगत अवलोकन गरेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button