तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकार र प्रादेशिक प्रसारण कार्यालयबिच ‘प्रदेश डायरी’ सञ्चालनको सहमति

जनकपुरधाम । प्रदेश नंं २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालयबिच ‘प्रदेश डायरी’ सञ्चालन गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । 

‘प्रदेश डायरी’ मा प्रदेश नंं २ सरकार, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका गतिविधिका साथै प्रदेश सरकार मातहतका कार्यालय र जिल्लाहरूका अन्य गतिविधि वर्षभरि सञ्चालन गर्ने सहमति भएको हो । 

सहमति पत्रमा प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका निमित्त सचिव अवध किशोर कुशवाहा तथा रेडियो नेपालका प्रादेशिक प्रसारण कार्यालय, बर्दिबासका प्रमुख राम पुकार रामले हस्ताक्षर गर्नुभयो । 

सहमति पत्रमा हस्ताक्षरका लागि प्रदेश नंं २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले अनुमति प्रदान गर्नुभएको थियो ।   

कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका लेखा अधिकृत निरेन्द्रलाल कर्ण, मन्त्रालयका अधिकृत एवं सम्पर्क व्यक्ति नजोराम भगत लगायतका अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।

रेडियो नेपालले यस अघि पनि प्रदेश सरकारको गतिविधि एवं समाचारलाई प्राथमिकताको साथ प्रसारण एवं प्रकाशन गर्दै आएकोमा ‘प्रदेश डायरी’ सञ्चालन गर्ने सहमतिपछि थप प्रभावकारिता आउने रेडियो नेपालका प्रादेशिक प्रसारण कार्यालयका प्रमुख राम पुकार रामले बताउनुभयो । 

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका निमित्त सचिव अवध किशोर कुशवाहाले रेडियो नेपाल तथा नेपाल टेलिभिजन सबैको साझा सञ्चार माध्यम भएकोले र तिनीहरूको विकासमा निरन्तर सहयोग रहने उल्लेख गर्नुभयो । 

अहिले रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालय, बर्दिबासबाट दैनिक रुपमा ४ घण्टासम्म मैथिली, भोजपुरी, नेपाली र मगही भाषामा समाचारका साथै समाचारमूलक, जनचेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारण भइरहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button