तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने एडीबीको प्रक्षेपण

काठमाडौँ । एसियाली विकास बैङ्क (एडीबी) ले नेपालमा चालु आर्थिक वर्ष २०७८/०७९ को आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । 

नेपाल सरकारले चालु आर्थिकको बजेटमार्फत ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेको छ । 

यसअघि बैङ्कको एशियन डिभलप्मेन्ट आउटलुकले नेपालको यस वर्षको आर्थिक वृद्धिदर ५.१ प्रतिशतले हुने अनुमान गरेको थियो ।

(एडीबी)ले आज सार्वजनिक गरेको प्रक्षेपणमा कोभिड–१९ को घट्दो क्रम र आर्थिक गतिविधिमा भएको सुधारले आर्थिक वृद्धिमा सहयोग पुग्ने एडीबीले बताएको छ ।

यो वर्ष धेरै वर्षा भएका कारण कृषि उपज धान बालीले जीडीपीमा राम्रो योगदान गर्ने, निर्यात वृद्धि हुने, घरेलु उत्पादनमा वृद्धि हुने जस्ता कारणले नेपालको आर्थिक वृद्धि सकारात्मक हुने एडीबीले विश्वास गरेको छ । 

कोरोना महामारीका कारण प्रभावित क्षेत्रको पुनरुत्थान र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी बढाउने घोषणाको सकारात्मक प्रभाव समेत अर्थतन्त्रमा पर्ने, खुद्रा व्यापार, यातायात र वित्तीय सेवामा भइरहेको चलायमान अवस्थाले समेत आर्थिक वृद्धिमा सघाउ पुग्ने एडीबीले प्रक्षेपण गरेको छ ।

एसियाली विकास बैङ्कका नेपाल निर्देशक अर्नौड काचोइसले नेपालमा जारी कोरोना विरुद्धको खोप अभियानले विकासको प्रयासमा ठूलो समर्थन प्राप्त हुने बताउनुभयो । 

एडीबीको प्रतिवेदनले यो वर्ष नेपालको मुद्रास्फिति ५.२ प्रतिशतसम्म पुग्ने सक्ने र सेवा क्षेत्रले समेत आर्थिक वृद्धिमा टेवा पुर्‍याउन सक्ने अनुमान गरेको छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button