तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँ कारागारका सात जना कैदीबन्दीको सजाय माफी

तनहुँ । संविधान दिवसको अवसरमा तनहुँ जिल्ला कारागारका सात जना कैदीबन्दीले सजाय माफी पाएका छन् । विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका ७ जना कैदी बन्दीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहा तथा माफी पाएका छन् ।

५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने सरकारी नियम अनुसार आइतबार संविधान दिवसको अवसरमा कञ्चनपुर कारागारमा रहेका ७ जना पुरुषलाई कैद मिनाहा गरिएको जिल्ला कारागार तनहुँका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

कैद मिनाहा हुनेमा कर्तव्य ज्यानमा मकवानपुरका अर्जुन चेपाङ र कुमार चेपाङ, तनहुँका टिकाराम विक, सवारी ज्यान मुद्दामा तनहुँका बालकृष्ण भुजेल, भारत खवास, स्याङ्जाका भक्तबहादुर सुनारी मगर र बहुविवाह मुद्दामा पदम बहादुर विक रहेको उहाँले बताउनुभयो ।

उनीहरूको बानी व्यवहार, अनुसार चालचलन, रहनसहन सबै राम्रो भएमा कारागारका जेलर र प्रमुख जिल्ला अधिकारीले गरेको सिफारिसको आधारमा कैद मिनाहा हुने व्यवस्था अनुसार उनीहरूको कैद मिनाहा गरिएको अधिकारीले बताउनुभयो ।

लागु औषध, भ्रष्ट्राचार, मानव तस्कर, सर्वस्वसहित जन्मकैद र चेलीबेटी बेचबिखन लगायत १९ प्रकारका गम्भीर मुद्दा हो । यी मुद्दामा ५० प्रतिशत कैद भुक्तान गरे पनि आम माफी पाउँदैनन् ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ र फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ को व्यवस्था अनुसार कैदी बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ ।

त्यसका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिका लागि सिफारिस गर्नु पर्छ । संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७६ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनलाई कैद मिनाहा गर्ने कानुन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button