तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा विद्युत्को महसुल नतिर्ने ग्राहकको लाइन काटिँदै

पर्वत । नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्रले विद्युत् महसुल तिर्न बाँकी रहेका ग्राहकको लाइन् कट्ने भएको छ ।

पर्वत वितरण केन्द्रले विद्युतीय मिटर रिडिङ गरेको ६० दिनसम्म पनि महसुल नबुझाउने उपभोक्ताको विद्युत् लाइन कटौती गर्ने अभियान सुरुवात गरेको हो ।

विद्युत् महसुल तिर्न मोटो रकम उठ्न बाँकी रहेकाले ६० दिनभित्रमा महसुल नतिरेमा लाइन काटिने र तिरेपछि मात्रै विद्युत् जडान गर्ने अभियान थालिएको वितरण केन्द्रका निमित्त प्रमुख प्रकाश काफ्लेले जानकारी दिनुभयो ।

पर्वत वितरण केन्द्रका प्रमुख काफ्लेले जिल्लाभर यो अभियानलाई कडाइका साथ सञ्चालन भइरहेको बताउनुभयो । काफ्लेका अनुसार पाउनुपर्ने रकम कति छ भनेर हिसाब निकाल्ने काम भइरहेको छ ।

बक्यौता रहेकाहरूको खोजी गरेर लाइन काट्ने काम भइरहेको छ । 

अभियान अन्तर्गत सदरमुकाम कुश्माबजारमा मात्रै २३ जनाको विद्युत् लाइन कटौती गरिएको काफ्लेले जानकारी दिनुभयो । तीमध्ये २० जनाले कार्यालयमा आएर बक्यौता भुक्तानी गरेको उहाँले बताउनुभयो । 

२० जनाबाट दुई लाख ६ हजार ८० रुपैयाँ असुल भएको पनि काफ्लेले जानकारी दिनुभयो । 

हालसम्म विद्युत् लाइन काटिएका सबै निजी क्षेत्रको रहेको भन्दै काफ्लेले सरकारी कार्यालयको पनि बक्यौता देखिए लाइन काटिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button