तपाईँ सुन्दै हुनुहुन्छः

जग्गा बेचेर ऋण तिर्न थाले इँटा व्यवसायीले

चितवन। मजदुर, कच्चा पदार्थ र स्थानीयको अवरोधका कारण सङ्कटमा रहेका यहाँका इँटा उद्योग कोभिड–१९ सँगै विस्थापित हुने अवस्थामा पुगेका छन् । जिल्लामा रहेका १८ उद्योगमध्ये गत वर्ष दुई उद्योग आंशिक सञ्चालन भएका थिए ।

जिल्लाको रत्ननगर, राप्ती र खैरहनी नगरपालिकामा उद्योग छन् । चितवन इँटा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाका अनुसार यस वर्ष चार÷पाँच उद्योगले मात्र सञ्चालन गर्ने तयारी गरेका छन् । अन्य उद्योग सधैँका लागि बन्द हुने अवस्थामा पुगेको बताइएको छ । महामारीका कारण एउटा उद्योगले रु दुई करोड हाराहारी नोक्सान बेहोर्नुपरेको उहाँको भनाइ छ ।

कतिपय उद्योगले जग्गा बेचेर ऋण तिर्नुपर्ने अवस्था आएको उहाँले जानकारी दिनुभयो । यस वर्ष कोइलाको मूल्यमा झन्डै दोब्बर वृद्धि भएको छ । सरकारले कोभिडबाट पूर्णरुपमा प्रभावित भएका इँटा उद्योगलाई ऋणको ब्याजमा अनुदान नदिएको उहाँले गुनासो गर्नुभयो । खैरहनीमा रहेको खनाल इँटा उद्योगका सञ्चालक ईश्वरी पण्डित उद्योग सञ्चालन गर्न नसक्ने भए पछि उद्योगको नामको जग्गा नै बेचेर ऋण तिर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ऋण तिर्न सकिएन अब जग्गा बेच्दै छाँै । यो पेसाबाट विस्थापित हुन आएको छ । धेरैको अवस्था आफ्नो उद्योगको जस्तै भएको छ ।”

यहाँको इँटा मकवानपुर, नवलपुर, गोर्खा, तनहुँ, पोखरा, काठमाडौँसम्म बिक्री हुने गर्दथ्यो । उहाँले भन्नुभयो, “सरकारले उद्योग जोगाउने योजनासम्म ल्याएन ।” राप्तीको लालपुरको मनकामना र खैरहनीको चैनपुरको न्यू सङ्गम इँटा उद्योग गत वर्ष चलेका थिए । स्थानीयको प्रदूषणको गुनासो, माटोको अभाव र महँगो, कोइलाको अश्वभाविक मूल्यवृद्धि, मजदुरको अभावलगायतका कारण उद्योगी पुनः उद्योग सञ्चालन गर्ने मनस्थितिमा छैनन् ।

इँटा व्यवसायी विनोदकुमार श्रेष्ठले गत वर्षदेखि ३५ वर्ष पुरानो श्री इँटा उद्योग चलाउन सक्नुभएको छैन । उहाँले गुनासो गर्नुभयो, “कच्चापदार्थ नै महँगिएको छ, लगानी उठाउने अवस्थै रहेन विस्थापित नै बन्नुपर्‍यो ।” गत वर्ष आंशिकरुपमा चलेको मनकामना इँटा उद्योगका सञ्चालक पुष्पकुमार पिया यस वर्ष अन्यौलमा हुनुहुन्छ । गत वर्ष मुस्किलले उत्पादन गरेको १० प्रतिशत इँटा बिक्री भएको उहाँले गुनासो गर्नुभयो । पूर्वतिरबाट सस्तो मूल्यका इँटा आउन थालेपछि जिल्लाका गुणस्तरीय इँटा खपत हुन नसकेको व्यवसायीको भनाइ छ । काँचो इँटा पानीले बिगार्दा कुनै क्षतिपूर्ति नपाइने र बीमा पनि नभएको व्यवसायी बताउँछन् । इँटाका लागि गिट्टी, बालुवा नमिसिएको चिम्टाइलो माटो चाहिन्छ । कात्तिकदेखि वैशाखसम्म बनाउने र पकाउने काम हुन्छ । इँटा पकाउन अत्याधुनिक प्रविधिमा लगानी गरेका व्यवसायी पलायनका स्थितिमा पुगेका हुन ।

जिल्लाका उद्योगमा एक वर्षमा आठ हजारले रोजगार पाउने गरेको सङ्घले जनाएको छ । नेपाल इँटा उद्योग महासङ्घका उपाध्यक्षसमेत रहनुभएका सापकोटाले एउटा उद्योग सञ्चालन गर्न रु तीन करोडभन्दा बढी लगानी हुने जानकारी दिनुभयो । नेपालमा एक हजार ३०० इँटा उद्योग रहेका छन् । तीमध्ये ४० प्रतिशत बन्द हुने अवस्थामा रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button