तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली जनावरले बाली सखाप पार्न थालेपछि किसानहरू चिन्तित

सिन्धुपाल्चोक । खेतबारीमा पसेर जङ्गली जनावरले अन्न बालीमा क्षति पुर्‍याउन थालेपछि सिन्धुपाल्चोकका किसानहरू चिन्तित भएका छन् । 

भित्राउने बखतका अन्नबाली, फलफूल र तरकारी खेतीमा बँदेल, बाँदर मृग र हरिण लगायतका जङ्गली जनावरले क्षति पुर्‍याउन थालेपछि सिन्धुपाल्चोकका किसानहरू चिन्तित भएका हुन् ।

जङ्गली जनावर नियन्त्रण गर्ने गतिलो उपाय नभएपछि किसानहरू टिन ठटाउँदै, शङ्ख फुक्दै र होहल्ला गर्दै आफ्ना खेतबारी रुँग्न थालेका छन् । 

दिनको समयमा बाँदर, हरिण, मृग र रातको समयमा बँदेलले बाली सखाप पार्न थालेपछि चौतारा साँगाचोकगढी नगरपालिका वडा न ११ का ७२ वर्षीय किसान जगत पराजुलीको रातको समय टिन ठटाएर बित्ने गरेको छ । 

पाक्नै लागेको बाली रातको समयमा बँदेलले सखाप पार्न थालेपछि  दिनभरि बाँदर धपाउँदै र रातभर  टिन ठटाएर बँदेल लखेट्दै उहाँको दिन बित्ने गरेको हो । 

७२ वर्षको उमेरमा पनि निद्रा माया मारेर खेतबारी रुँग्नु पर्दा आफूलाई औधी दुख लागेको किसान पराजुली बताउनुहुन्छ । 

हुन पनि खेतबारीमा लगाएको अन्न बाली र फलफूल जङ्गली जनावरले सखाप पार्न थालेपछि अहिले सिन्धुपाल्चोकका किसानहरूको न दिनमा चैन छ, न त रातमा निन्द्रा  । दिनभरि बाँदर धपाउने र रात परेपछि बँदेल लखेट्न टिन ठटाउँदै, शङ्ख फुक्दै र होहल्ला गदै खेतबारी रुँग्नु पर्ने किसानहरूलाई बाध्यता छ । 

इन्द्रावती गाउँपालिका किसानहरू अहिले खेतीपाती छोडेर अन्य पेसामा लाग्ने बताउनुहुन्छ । “कालुको बारीमा भालुको रजाइँ भने झैँ भएको छ’’ इन्द्रावती गाउँपालिका, धुसेनीका किसान मुक्तिनाथ आचार्यले भन्नुभयो । “अर्को सालदेखि त खेतबारी बाँझो नै राखेर अन्य पेसामा लाग्नुपर्ने भयो’’ उहाँले थप्नुभयो ।

त्यसो त जङ्गली जनावरले अन्नबाली सखाप पार्न थालेपछि स्थानीय सरकारले पनि जङ्गली जनावर नियन्त्रणका लागि उपाय खोज्न थालेका छन् । 

इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले जङ्गली जनावर नियन्त्रणका लागि बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाले पनि चालु आर्थिक वर्षमा बँदेल र बाँदर नियन्त्रणका लागि निश्चित बजेट विनियोजन गरेको मेयर आमान सिंह तामाङले जानकारी दिनुभयो ।

जिल्लाको लेकाली भेगमा बँदेल र मध्य भेगमा बाँदर, हरिण र मृगको बिगबिगी बढ्न थालेको जिल्ला बन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।  

बस्र्यौनी लाग्ने गरेको डढेलो र बन फडानीले जङ्गली जनावरको वासस्थान मास्न थालेपछि  बासस्थान र आहारा खोज्न जङ्गली जनावरहरू मानव बस्ती पस्न थालेको विज्ञहरूको भनाइ छ । 

जङ्गली जनावरहरूबाट  मानव बस्ती र खेतबारी जोगाउनका लागि उचित उपायसहित प्राकृतिक रुपमा नै  चरणको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button