तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीय संसद् ठिक बाटोमै अघि बढिरहेको छ : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संविधान र सङ्घीयता कार्यान्वयनका लागि कानुन निर्माणका हिसाबले मूलभूतरुपमा सङ्घीय संसद् ठिक बाटोमै अघि बढिरहेको बताउनुभएको छ ।

राष्ट्रियसभा विधायन व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित विधायिकी खुल्लापन र लोकतन्त्र मेला कार्यक्रममा उहाँले पछिल्ला समयमा भएका बहस, छलफल र गतिविधि विश्वकै लागि अध्ययन गर्ने ठूलो विश्वविद्यालय बनेको धारणा व्यक्त गर्नुभयो ।

सभामुख सापकोटाले भन्नुभयो, “समुद्र मन्थन गरेझैँ धेरै छलफल र बहसका साथ  जारी भएको नेपालको संविधान महत्वकाङ्क्षी छ, जनतालाई अधिकार प्रदान गर्ने हिसाबले विशिष्ट र मौलिक छ । लोकतन्त्र भनेको भाषणमा होइन व्यवहारमा अभ्यास गर्ने विषय हो ।”

सङ्घीय संसद्को ओजलाई माथि उठाउन सबैले भीष्म प्रतिज्ञा र सङ्कल्प गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनमा दूरदर्शिता र प्रतिबद्धता पाटोमा कमजोरी छ । कार्यसम्पादनमा देखिएका कमी कमजोरी सुधार, परिमार्जनका लागि कडा मिहिनेत र इमानदार प्रयास आवश्यक छ ।” 

प्रतिनिधिसभा विघटन प्रतिनिधिसभाले मात्र गर्न सक्ने व्यवस्था हुन आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “संविधान र सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि कानुन निर्माण लगायतका विषयमा के कस्ता कमजोरी भए त्यसको गम्भीर आत्म समीक्षा गरिनुपर्छ ।” 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान र सङ्घीयता कार्यान्वयनको प्रतिफल नागरिकले के कति प्राप्त गर्न सके त्यसको गहन समीक्षा हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “विधि बनाउने मुख्य जिम्मेवारीमा हाम्रो पहल कस्तो रह्यो, सुशासनका माध्यमद्वारा मुलुक र नागरिकलाई समृद्ध बनाउन भएका प्रयासको समीक्षा हुनुपर्छ, हाम्रो मिहिनेतले इतिहासको कठघरामा इमानदारीपूर्वक काम गरेको भन्ने छवि बनोस् ।”

राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले लामो सङ्घर्ष र ठूलो बलिदानीको उपलब्धिका रुपमा संविधानसभाबाट जारी भएको संविधानका उल्लेखित मौलिक अधिकार लगायतका विषयवस्तु कार्यान्वयन गरी जनतालाई परिवर्तनको अनुभूति प्रदान गर्न सबैको इमानदार प्रयासको खाँचो औँल्याउनुभयो ।

विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले लोकतान्त्रिक मूल्यमान्यतालाई राजनीतिक दल, नागरिक समाज र भ्रातृ सङ्गठनलाई एक ठाउँमा भेला भएर जनता र मुलुकको हित प्रवर्द्धनका लागि अनुभव साटासाट गर्न सकियोस् भन्ने हेतुले संविधान दिवसका अवसरमा लोकतन्त्र मेला आयोजना गरिएको जानकारी दिनुभयो ।

सो अवसरमा संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संविधान र सङ्घीयता: हिजो, आज र भोलि, वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतोले  संविधान र समावेशिता तथा अधिवक्ता माधवकुमार बस्नेतले संविधान र मौलिक हक विषयमा प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि नेपाल कानुन आयोगका निवर्तमान अध्यक्ष माधव पौडेलले टिप्पणी गर्नुभयो । 

त्यस अवसरमा सभापति मेघी गुरुङद्वारा लिखित नेपालमा कानुनको सामाजिक जाँच (उत्तरविधायिकी परीक्षण) नामक पुस्तिकाको लोकार्पण गरियो । 

समारोहमा संसद् सचिवालयका पूर्व महासचिव त्रय ईश्वरप्रसाद उपाध्याय, सूर्य किरण गुरुङ र मनोहर प्रसाद भट्टराईलाई उहाँहरूले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै सम्मान गरियो । रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button