तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिमको पहिलो औद्योगिक ग्राम अछामको मेल्लेखमा

अछाम । सुदूरपश्चिमको पहिलो औद्योगिक ग्रामका रूपमा अछामको  मेल्लेख गाउँपालिकाले उद्योग ग्रामको सुरुवात गरेको छ । एउटा होजियारी उद्योगको सुरुवात सहित उद्योग ग्रामको उद्घाटन गरिएको हो ।

सुदूरपश्चिम प्रदेशका अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समितिका सभापति हर्क बहादुर कुँवर (गोविन्द) ले मेल्लेख गाउँपालिकामा स्थापना गरिएको ग्राम उद्योगको औपचारिक रूपमा उद्घाटन गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद तथा अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति कुँवरले सम्भवतः पहाडी जिल्लाकै पहिलो औद्योगिक ग्रामका रूपमा मेल्लेख गाउँपालिकामा उद्योगको स्थापना गर्न सफल भएकोमा बधाई ज्ञापन गर्नुभयो ।

कुँवरले मेल्लेख गाउँपालिकामा स्थापना भएको ग्राम उद्योगको विकास तथा दिगोपनाका लागि प्रदेश सरकार र व्यक्तिगत तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दै उद्योगबाट उत्पादित सामाग्रीहरूको उचित बजारीकरण हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला विकास समितिका पूर्व सभापति कृष्ण प्रसाद जैशीले ग्राम उद्योग उद्घाटनसँगै औद्योगिक क्रान्ति सुरु भएको र यसलाई सार्थकता दिन सबैको भूमिका हुनुपर्नेमा जोड दिनुभयो ।

उद्योग वाणिज्य सङ्घ अछामका अध्यक्ष महेन्द्र कडायतले ग्राम उद्योगबाट उत्पादित सामाग्रीहरूको बजारीकरणका लागि उद्योग वाणिज्य सङ्घले आवश्यक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

मेल्लेख गाउँपालिकाको ४९ लाख ४८ हजार ४ सय ५५ रुपैयाँको लागतमा भौतिक संरचना निर्माण तथा उद्योग सञ्चालनका लागि १७ लाखको आवश्यक उपकरण जडान गरी ग्राम उद्योग सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले जानकारी दिनुभयो । १७ करोडको लागतमा ग्राम उद्योग स्थापना गर्न सकिने गरी डिपिआर समेत तयार गरिएको बोहराले बताउनुभयो ।

ग्राम उद्योग स्थापनका लागी निःशुल्क रूपमा ४० रोपनी जग्गा दान गर्ने गाउँपालिकाको वडा नम्बर ७ का दल बहादुर साउद, रनी साउद, इन्द्र साउद र नयाँ साउदलाई सम्मान समेत गरिएको छ ।

कार्यक्रममा मेल्लेख गाउँपालिकामा स्थानीय भ्वानसिंह टमट्टाले उत्पादन गरेका दुध्यारो लगायत काठबाट बनेका सामाग्री अतिथिहरूलाई मायाको चिनोका रूपमा प्रदान गरिएका थिए ।

ग्राम उद्योगको पहिलो उद्योगको रूपमा झन्डै २१ लाख रुपैयाँको लागतमा उपकरण सहित ३ जना दक्ष जनशक्ति परिचालन गर्दै स्थानीय गोविन्द बहादुर खड्काले कपडा उत्पादन कार्य सुरु गर्नुभएको छ । खड्काले निकट भविष्यमै गाउँपालिकाका ५० जना युवाहरूलाई स्वरोजगार बनाउने दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button