२०७८ साल कार्तिक ७ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

श्री रामाजुजाचार्य एवम् विशिष्टाद्वेत दर्शन तथा यतिन्द्रमतदीपिका ग्रन्थ लोकार्पण

अच्युत अर्याल २०७८ असोज १ गते २१:१०

काठमाडौँ । श्री वैष्णव युवा परिषद् नेपालद्वारा प्रकाशित श्री रामाजुजाचार्य एवम् विशिष्टाद्वेत दर्शन तथा अन्तर्राष्ट्रिय श्री सम्प्रदाय मञ्चद्वारा प्रकाशित यतिन्द्रमतदीपिका ग्रन्थ लोकार्पण गरिएको छ । 

श्री वैष्णव परिषद् नेपालद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, परिषद्का अध्यक्ष स्वामी देवराजाचार्य, स्वामी कृष्णमाचार्य र नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ लगायतले ग्रन्थको संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।

कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले शरण गति र भक्ति वैष्णव सम्प्रदायको मूल तत्त्व रहेको बताउनुभयो । उहाँले वैष्णव सम्प्रदायको जीवित इतिहासका रुपमा बुढानीलकण्ठको विश्वकै ठूलो प्रस्तर मूर्ति रहेको बताउनुभयो ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले दीर्घकालसम्म चलाउन सकिने भए छलफलपछि विशिष्ट द्वैत दर्शनको पठनपाठन सुरु गर्न सकिने बताउनुभयो । 

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले संस्कृत विश्वविद्यालयले विशिष्ट द्वैत दर्शनको अध्यापन गराउनुपर्ने उल्लेख गर्नुहुँदै यस विषयमा प्रतिष्ठान र परिषद् मिलेर दुई महिनापछि गोष्ठी आयोजना गरिने बताउनुभयो । 

कार्यक्रममा मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनाचार्य, परिषद्का महासचिव सुदर्शन नेपाल, प्रा डा काशीनाथ न्यौपाने, प्रा डा भागवत ढकाल, सह प्रा डा नारायणप्रसाद गर्तौला, पुस्तकका प्रधान सम्पादक डा रघुनाथ नेपाल, परिषद्का अध्यक्ष ऋषि प्रपन्नाचार्य, वैष्णव परिषद्का अध्यक्ष देवराज आचार्य लगायतले दर्शनको विश्वविद्यालय तहमा अध्ययन अध्यापनको व्यवस्था गर्न माग गर्नुभएको थियो । 

नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक माधवराज गौतम, प्राध्यापक काशीनाथ न्यौपाने र प्राध्यापक भागवत ढकालले ग्रन्थको समीक्षा गर्नुभएको थियो ।

सो अवसरमा शताब्दी पुरुष जोशीले नेपाली भाषा, साहित्य र संस्कृति क्षेत्रमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । 

हाल नेपालमा रामानुजाचार्यले प्रतिपादन गर्नुभएको दर्शन अध्ययन अध्यापन हुने १५ गुरुकुल छन् । जहाँ एक हजार भन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेको परिषद्का उपाध्यक्ष विष्णु अधिकारीले जानकारी दिनुभयो । 

सम्बन्धित