तपाईँ सुन्दै हुनुहुन्छः

‘सम्वृद्धिका लागि सहकारीको भूमिका महत्त्वपूर्ण’

विराटनगर । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले मुलुकको आर्थिक सम्वृद्धिका लागि सहकारीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । 

राजसति महिला बहुउद्देश्यीय सहकारी संस्था लि. वुढीगंगा–१ टंकीसिनवारी मोरङको २१ औँ वार्षिक साधारण सभाको आज उद्घाटन गर्दै उहाँले आर्थिक सम्वृद्धिका लागी स्थानीय स्तरमा आयआर्जनका कार्यक्रम सञ्चालन गर्न  सहकारीलाई आग्रह गर्नुभयो । 

विश्वका धेरै मुलुक सहकारीको माध्यमबाट समृद्ध भएको उदाहरण दिनुहुँदै  उहाँले स्वरोजगार कार्यक्रममा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । 

संस्थाकी अध्यक्ष तारादेवी राई, नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकाल, राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष रमेशप्रसाद पोखरेल, जिल्ला सहकारी संघका अध्यक्ष  डिल्ली पोखरेल लगायतले सफल सहकारी सञ्चालनमा महिलाको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गर्नुभयो । 

त्यस अवसरमा प्रदेश प्रमुख अधिकारीले सहकारीका ७५ वर्ष उमेरका ६९ जना, ज्येष्ठ महिला सहकारी सदस्य आठ र एकल महिला शेयर सदस्यलाई दोसल्ला एवं सम्मान पत्रद्वारा सम्मानित गर्नुभयो ।

२०५७ सालमा ९५ सदस्यहरूबाट २० रुपैयाँ सङ्कलन गरी सञ्चालन गरिएको सहकारीमा अहिले समावेशीको आधारमा ९०२ जना शेयर सदस्यहरु रहेका छन् । शेयर सदस्यहरूमध्ये महिला ९०० रहेका छन् ।

संस्थाले चाल आर्थिक वर्षको अहिलेसम्म रु १० करोड ५३ लाख ३९ हजार ४२७ बचत सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button