तपाईँ सुन्दै हुनुहुन्छः

२ दिने प्लास्टिक सर्जरी शिविरमा ४९ जना लाभान्वित

अछाम । अछामको बयालपाटा अस्पतालमा २ दिने निःशुल्क प्लास्टिक सर्जरी शिविरबाट ४९ जना लाभान्वित भएका छन् । कीर्तिपुर अस्पताल काठमाडौँद्वारा आयोजित शिविरमा ४९ जनाले सेवा लिएका अस्पतालले जनाएको छ ।

जसमध्ये ३५ जनाको बयालपाटा अस्पतालमै सर्जरी गरियो भने १४ जनालाई नेपालगन्ज रेफर गरिएको छ । कीर्तिपुर अस्पतालका डाक्टर शंकरमान राई, सर्जन डाक्टर किरण नकर्मी र एनेस्थेसिया श्यामेन्द्र सिंह लगायतको टोलीले अप्रेसन तथा उपचार गरेको थियो ।

शिविरमा ६६ जना बिरामी आए पनि १७ जना शल्यक्रियाको दायरामा नपर्ने भएकाले सुझाव सल्लाह दिएर पठाइएको छ ।

स्माईल टेन र रिसर्च ईन्टरनेशनलको सहयोग तथा फेक्ट नेपाल र कीर्तिपुर अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा ओठ तथा तालु चिरिएका, खुँडे तथा आगोले पोलेर एक भागसँग अर्को भाग जोडिएर कुँजो भएकाहरूको उपचार तथा शल्यक्रिया गरिएको बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दिप पाठकले बताउनुभयो ।

शिविर सम्पन्न गर्न साँफेबगर नगरपालिका र बयालपाटा अस्पतालले सहयोग गरेका थिए ।

गाउँमै प्लास्टिक सर्जरी शिविर मार्फत सेवा पाएकोमा सेवाग्राही खुसी देखिएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button