तपाईँ सुन्दै हुनुहुन्छः

कोभिडका कारण बन्द रहेका स्याङ्जाका धार्मिक तथा ऐतिहासिक मन्दिर खुल्न थाले

स्याङ्जाको कालीगण्डकी मन्दिर

स्याङ्जा । कोभिडका कारण वैशाखदेखि बन्द रहेका धार्मिक तथा ऐतिहासिक स्थलहरू खुला भएका छन् । कोरोना भाइरसको दोस्रो भेरियन्ट तीव्र गतिमा फैलिएपछि वैशाख अन्तिमदेखि बन्द रहेका यहाँका धार्मिक तथा ऐतिहासिक स्थलहरू खुल्न थालेका हुन् । 

गण्डकी प्रसिद्ध धार्मिक स्थल छाया क्षेत्र शिव मन्दिर औपचारिक रुपमा खुला भएको छ । पञ्चमीका दिन सप्तऋषिको मूर्ति प्रतिस्थापन गरी औपचारिक रुपमा खुला गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय पालिककै जिम्मेवारीमा विद्यालयहरू पनि खुल्न दिएपछि धार्मिक मठमन्दिरहरू पनि खुला भएका हुन् । कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड भने अनिवार्य पालना गरी मन्दिरमा पूजाको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

यसअघि कोरोना सङ्क्रमणका कारण मन्दिरमा बिहान बेलुका नित्यपुजा मात्रै गरिएको थियो । त्यस्तै जिल्लाका अन्य धार्मिक तथा ऐतिहासिक मन्दिरहरू पनि खुला भएका छन् । वालिङ नगरपालिका–१२ स्थित घुरुङ्खाँगाउँमा रहेको अकलादेवी मन्दिरमा श्रद्धालु भक्तजनहरूले दर्शन गर्नुका साथै पूजाआजा गर्न पाउने भएका छन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भविराज गुरुङले लामो समय सम्म मन्दिर बन्द रहँदा भक्तजनले पूजापाठ गर्न नपाएकोले सङ्क्रमणबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्दै मन्दिरमा दर्शनका साथै पूजापाठ गर्ने गरी मन्दिर खुला गरिएको जानकारी दिनुभयो । त्यस्तै बाइसे चौबिसे राजाहरूले पूजा गर्दै आएका गह्रौँसुर मन्दिर पनि भक्तजनको लागी खुला भएको छ । 

कोभिडका कारण बन्द झण्डै ५ महिनादेखि बन्द  रहेको वालिङ ८ र गल्याङ १० को सिमानामा रहेको गह्रौँसुर मन्दिरमा पनि अव भक्तजनले स्वास्थ्य मापदण्ड पालना गरी पुजा गर्न पाउने भएका छन् । त्यस्तै जिल्लाको दक्षिण भेगमा पर्ने आलमदेवि मन्दिरमा पनि भक्तजनले पूजाआजा गर्न थालेका छन् । कालीगण्डकी गाउँपालिकामा पर्ने मन्दिरमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी पूजाआजा गर्न सक्ने त्यहाँको मन्दिर व्यवस्थापन समितिले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button