तपाईँ सुन्दै हुनुहुन्छः

महसुल नतिर्नेको विद्युत् काट्ने अभियान

पर्वत । नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्रले विद्युतीय मिटर रिडिङ गरेको ६० दिनसम्म पनि महसुल चुक्ता नगरेका उपभोक्ताहरूको बिद्युत् नै कटौती गरिदिने अभियान थालेको छ । 

विद्युतीय महसुलको मोटो रकम उठ्न बाँकी रहेकाले ६० दिन भित्रमा महसुल नतिरेमा विद्युत् नै काटिने र तिरेपछि मात्रै विद्युत् जडान गर्ने तीव्रताका साथ काम भइरहेको पर्वत वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख प्रकाश काफ्लेले बताउनुभयो । 

अभियान सुरु गर्नासाथ सदरमुकाम कुश्माबजार एरियाको केही ठाउँमा मात्रै २३ जनाको बिद्युत् कटौती गरिएको र तीमध्येका २० जनाले कार्यालयमा आएर बक्यौता भुक्तानी गरेका छन् । 

बिद्युत् काटिएका २० जनाबाट दुई लाख छ हजार ८० रुपैयाँ असुल भएको पनि निमित्त कार्यालय प्रमुख काफ्लेको भनाई छ । 

अहिलेसम्म बिद्युत् काटिएकाहरूमा घरमा जोडिएका व्यक्तिगत लाइन, फार्म र उद्योग रहेका छन् । 

ती २० जनामा सरकारी कार्यालय नपरेको बताउँदै उहाँले एरिया अनुसार जाँच गर्दै जाँदा क्रमशः सरकारी कार्यालयको समेत बक्यौता देखिन सक्ने र त्यस्तो पाइएमा सरकारी कार्यालय वा अन्य संस्थाको समेत बिद्युत् सेवा अवरुद्ध हुनसक्ने बताउनुभयो । 

सदरमुकाम कुश्माबाट सुरु गरिएको यो अभियानलाई कडाइका साथ जिल्लाकै सबै स्थानीय तहमा समेत कार्यान्वयन गर्न लागिएको छ । 

महसुल समयमा नै तिरेमा उपभोक्ताको लागि छुट सुविधा हुँदा समेत उपभोक्ताले समयमा महसुल नतिरेर विद्युत् नै काटिने अवस्थामा पुग्नु नराम्रो भएको निमित्त कार्यालय प्रमुख काफ्लेले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button